काठमाडौं- रवि लामिछानेले नागरिकता पुर्नप्राप्ती गरेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर आइतबार उनले नागरिकता पुर्नप्राप्ति गरेका हुन्।
नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट संसद् र सरकारबाट बहिर्गमन भएको २ दिनपछि रविले अर्काे नागरिकता लिएका हुन्।



नागरिकता ऐन, २०६३ को दफा १० (१)मा कुनै नागरिकले विदेशी नागरिकता लिएमा नेपालको नागरिकता कायम नरहने र फेरि लिनुपर्ने व्यवस्था छ । त्यसैअनुसार रविले नागरिकता लिएका हुन्।
विदेशी नागरिकता त्याग गरेर पुनः नेपाली नागरिकता लिन चाहेमा निश्चित कानुनी प्रक्रिया पूरा गर्नुपर्ने प्रचलित कानुनको व्यवस्था छ। नेपाल नागरिकता ऐन २०६३ को दफा ११ मा पुनः नेपाली नागरिकता कायम हुने व्यवस्था अनुसार रविको पुन नेपाली नागरिकता कायम भएको छ।
शुक्रबार सर्वोच्चको संवैधानिक इजलासले रविको नेपाली नागरिकता कायम नरहेको ठहर गरेको थियो। नेपालको नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेकाले उनी सांसद, मन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र संसदीय दलको नेता जस्ता पदबाट हट्नुपरेको थियो ।
अब नागरिकताको प्रतिलिपि निर्वाचन आयोगमा बुझाएपछि रवि पार्टी सभापति रहनेछन्। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी चितवन– २ बाट भारी मतले विजयी भएका थिए। त्यहाँ अब उपनिर्वाचन गर्नुपर्ने छ।
नागरिकता लिएर मतदाता नामावलीमा नाम अद्यावधिक गराएपछि रवि उपनिर्वाचनमा उम्मेदवार बन्न पाउनेछन्। मन्त्री बन्न भने अब उनलाई कुनै कानुनी अड्चन हुने छैन । किनकि, सांसद् नभएको व्यक्ति पनि ६ महिनासम्म सांसद बन्न पाउने कानुनी व्यवस्था छ ।
रवि तत्काल मन्त्री बन्छन् या बन्दैनन् भन्ने अझै स्पष्ट भइसकेको छैन । अर्कातिर उनको दोहोरो पासपोर्टसम्बन्धी मुद्दामा पनि अनुसन्धान जारी छ। त्यसैले, तत्कालै मन्त्री बन्न नैतिक प्रश्न भने उठ्न सक्नेछ ।




