काठमाडौं- नेकपा एमालेको नेतृत्वमा बनेको वर्तमान सत्ता गठबन्धन भत्किएको छ । कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन तयार भएको छ ।
राष्ट्रपति चुनावलाई लिएर नेकपा एमाले र माओवादी केन्द्रबीच सुरु भएको विवादका कारण अन्तत गठबन्धन नै भंग हुने अवस्था आएको हो । नयाँ गठबन्धनमा तत्कालका लागि शक्ति बाँडफाँट समेत भएको छ ।



स्रोतका अनुसार कांग्रेसलाई राष्ट्रपति दिन सबै दल सहमत भएका छन् । यसअघि राष्ट्रपतिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि दाबी गरेका थिए । तर नेपाललाई १ वर्ष प्रधानमन्त्री दिने भनेर मनाइएको छ ।
जनता समाजवादी पार्टीले उपराष्ट्रपति पाएको छ । यसअघि उपराष्ट्रपतिमा माओवादी केन्द्रको पनि दाबी थियो । तर माओवादीले दाबी छाडेपछि सहमति जुटेको हो ।
नयाँ गठबन्धनमा कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीसँगै लोकतान्त्रिक समाजवादी पार्टी लोसपा सामेल हुने निश्चित भैसकेको छ । त्यसवाहेक राष्ट्रिय जनमोर्चा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि यही गठबन्धनमा आउने नेताहरुको दाबी छ ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग अहिलेसम्म छलफल नभएको एक नेताले बताए । राप्रपा नेकपा एमालेसँग नै रहने निश्चित रहेको उनले बताए ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा ब्युँताउने चर्चा पनि चलेको थियो । तर उक्त प्रयास भने अघि बढ्न सकेन । विशेष गरी एकीकृत समाजवादीले एमालेसँग नेकपा ब्युँताए मिल्न सकिने प्रस्ताव गरेको थियो । तर त्यसमा एमाले अध्यक्ष केपी शर्मा ओलीले खासै चासो नदिएको एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज नै बिदाई भेट हुने बताइएको छ । कतिपयले यसलाई निर्णायक भेट भनेका छन् । तर नयाँ गठबन्धन बनिसकेकाले यो बिदाई भेट मात्रै हुने स्रोतको दाबी छ ।
पुस १० गते एमाले नेतृत्वको वर्तमान गठबन्धन बनेको थियो । कांग्रेसले प्रधानमन्त्री नदिएपछि प्रचण्ड एमालेसँग मिल्न पुगेका थिए । तर २ महिना २ दिनमै गठबन्धन भत्किएको हो ।
नयाँ गठबन्धनबाट राष्ट्रपति पाएको कांग्रेसले उम्मेदवार भने शनिबार मात्रै टुङ्गो लगाउने बताइएको छ । त्यसका लागि कांग्रेसले आन्तरिक बैठक बोलाएको छ । शनिबार नै राष्ट्रपति र उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ताको कार्यतालिका छ ।
नयाँ गठबन्धनमा हाललाई ठुला पदमा मात्रै भागवण्डा गरिएको छ । अब नेकपा एमाले सरकारबाट बाहिरिने लगभग निश्चित भएकाले त्यसपछि बाँकी पदबारे छलफल गर्ने सहमति भएको नयाँ गठबन्धनकारी दलका नेताहरुको भनाई छ ।




