जनकपुरधाम – अबैध उत्खनन रोक्न जाँदा दिलीप महतोको हत्या गरेको अभियोगमा जिल्ला अदालत धनुषाले तीन जनालाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ।
न्यायाधीश चित्रबहादुर गुरुङ्गको इजलासले दुईजनालाई २५/२५ वर्षको सजाय र जनही ५ लाख क्षतिपुर्ति र एकजनालाई साढे १२ वर्ष कैद र अढाई लाख जरिवाना तोकेको छ।



शुक्रबारको न्यायाधीश गुरुङ्गले विपिन कुमार महतो र मुनिन्द्र महतोलाई २५/२५ वर्ष कैदको फैसला सुनाएका हुन भने पीडित परिवारलाई ५/५ लाख क्षतिपूर्ति दिन आदेश दिएका हुन्।

यस्तै, मतियारको भूमिका खेलेका जितेन्द्रकुमार महतोलाई साढे १२ वर्ष कैद र अढाई लाख क्षतिपूर्ति दिन आदेश गरिएको हो। यता, हत्यामा टिपरधनीको संलग्नता नदेखिएकाले साढे ८ लाख धरौटीमा टिपर छोडिएकाले रकम फिर्ता गर्ने निर्णय भएको हो।
दोषी ठहर भएका तीनैजनाले पीडित परिवारलाई क्षतिपुर्ती दिन नसके सरकारको पीडित कोषबाट रकम दिइनेछ। बिपिन क्रसर सञ्चालक हुन् भने मुनिन्द्र महतो टिपर चालक र जितेन्द्र कुमार महतो लोडर चालक थिए।
२०७६ साल पुस २५ गते धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका महतोले औरही खोलाको बगरमा टिपरले बालुवा गिट्टी चोरी गरी लगिरहेको भन्ने थाहा पाएपछि टिपर समात्न जाँदा फलामको लिभरले दाहिने कोखामा घोचेर सुरुमा घाइते बनाएको र उनलाई खोलामा सुताई उनीमाथि टिपर चलाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो।




