बलिउड अभिनेता सलमान खानलाई राजस्थानका एक युवाले दिन तोकेरै ३० अप्रिलमा ज्यान मार्ने धम्की दिएका छन्।
ती व्यक्तिले मुम्बई पुलिसलाई फोन गरेर सलमान खानलाई मार्ने धम्की दिएका हुन्। यसअघि पनि उनलाई मार्ने धम्की आएसँगै मुम्बई पुलिसले सलमानको घर अगाडि प्रहरी पोस्ट खडा गरी कडा सुरक्षा दिँदै आएको छ।



अघिल्लो पटकको धम्की पछी नै सलमानले सुरक्षाको कारण महँगो ‘बुलेटप्रुफ’ सेतो कार किनेका छन्।
अहिले धम्की दिने व्यक्तिले आफ्नो नाम ‘रकी भाइ’ बताएको प्रहरीले जानकारी दिएको छ । ती व्यक्तिले आफू राजस्थानको जोधपुरबाट भएको र ३० अप्रिलमा सलमानलाई मार्ने धम्की दिएको प्रहरी भनाइ छ।
सलमानलाई विभिन्न गिरोहबाट बारम्बार ज्यान मार्ने धम्की आइरहेको छ ।‘टाइगर’ ‘दबगं र ‘भाइजान’ नामले चिनिएका सलमानले ‘निसान’ कम्पनीबाट सबैभन्दा महँगो सेतो ‘निसान पेट्रोल’ बुलेटपुफ्र कार किनेको भोलिपल्टै पुनः मार्ने धम्की आएको हो।
सुरक्षाका दृष्टिकोणले यो बुलेटप्रुफ कार विशेष मानिन्छ। दक्षिण एसियाली बजारमा सबैभन्दा लोकप्रिय र महँगो मानिएको यो कार हाल भारतीय बजारमा उपलब्ध छैन। सलमानले यो कार विदेशबाट आयात गरेका हुन्।
केहीदिन अघि पत्रकार सम्मेलन गर्दै सलमानले कार किनेको विषयमा बोलेका थिए। उनलाई सोधिएको थियो, ‘सलमान सर, तपाई पूरै भारतको भाइजान हुनुहुन्छ। यस्तो अवस्थामा तपाईंलाई आउने धम्कीलाई कसरी हेर्नुहुन्छ?’
जवाफमा सलमानले ‘शुद्ध भारत के भाइजान नही हैं, किसी की जान भी हैं हम’ भन्ने जवाफ दिएका थिए।




