जनकपुरधाम- राष्ट्रपति रामचन्द्र पौडेलले सोमवार जनकपुरधाममा २३ वर्ष देखि निमाणर्धिन महेन्द्र नारायण निधि मिथिला सांस्कृति केन्द्रको समुदघाटन गर्दैछन्।
जनकपुरधाम उपमहानगरपालिकाको तर्फमा आज हुने राष्ट्रपति रामचन्द्र पौडेलको नागरीक अभिनन्दन कार्यक्रम अघि महेन्द्र नारायण निधि मिथिला सांस्कृति केन्द्रको समुदघाटन गर्ने कार्यक्रम रहेको छ।



शहरी विकास मन्त्रालय अन्तर्गतका संघीय आयोजना कार्यन्वयन इकाइ कार्यालय धनुषाका प्रमुख प्रदीप खनालका अनुसार राष्ट्रपति पौडेल को १ बजे महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको समुदघाटन गर्ने कार्यक्रम रहेको छ।
सहरी विकास मन्त्री सीता गुरुङको अध्यक्षतामा आयोजना हुने सो कार्यक्रम पश्चात सोहि सभाहलमा जनकपुरधाम उपमहानगरपालिकाको तर्फ बाट राष्ट्रपति पौडेलको नागरीक अभिनन्दन समारोहको आयोजना गरिने कार्यक्रम रहेको छ।
कार्यक्रममा नागरिक अभिनन्दन पत्रका साथै राष्ट्रपतिलाई उपहार प्रदान गर्ने कार्यक्रम रहेको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले बताए ।
प्राचिन मिथिला र वर्तमान मधेस प्रदेशका राजधानी जनकपुरधाममा प्रायः हरेक दिन हुने कुनै न कुनै धार्मिक अथवा सांस्कृतिक कार्यक्रमहरूमा हुने ठूलो जमघटलाई एकै स्थलमा राखेर कार्यक्रम गर्ने सभागृहको अभावलाई पुरा गर्नको लागि सरकार कै आयस्रोतबाट २३ वर्ष निर्माण सुरु गरिएको ठूलो र आधुनिक सभागृह महेन्द्र नारायण निधि मिथिला सांस्कृति केन्द्रको आज बल्ल राष्ट्रपति पौडेलले विधिवत उदघाटन गर्दै छन् ।
सभाहलको समुदघाटनले यहाँका प्राज्ञिक व्यक्तित्वहरु उत्साहित भएका छन् । साहित्यकार तथा विज्ञ रोशन जनकपुरी अव जनकपुरधाममा पनि स्तरीय कार्यक्रमको सुविधा भएकोमा खुसी व्यक्त गरेका छन्।
सभाहल बनेपछि अव स्तरीय कार्यक्रम गर्नका लागि काठमाण्डौं र बिरगंज जानुपर्ने बाध्यताको अन्त्य भएको जनकपुरधामका प्रमुख मनोज कुमार साहको भनाई छ ।
यसरी निर्माण सुरुभएको थियो केन्द्रको
२०५७ सालमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री थिए । भट्टराई नेतृत्वको सरकारबाट भएको निणर्य बमोजिम जनकपुरधाममा स्वर्गीय महेन्द्रनारायण निधिको स्मृतिमा मिथिला संस्कृति केन्द्र स्थापना गर्ने परिकल्पना तयार भयो।
महेन्द्र नारायण निधिकी धर्मपत्नी प्रेमसागर देवीले उक्त सांस्कृतिक केन्द्रको शिलान्यास गरेकी थिइन् ।
यसरी दुई दशकभन्दा अघि गरिएको त्यो परिकल्पना अहिले आएर पूणर्ता पाएको छ। विभिन्न आरोह र अवरोहहरू पार गर्दै शिलान्यास भएको लगभग २३ वर्षपछि ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ पूणर् आकार लिई भव्य संरचना सहित अहिले ठडिएको छ।
‘महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र’ निर्माणका लागि नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले निरन्तर चासो लिइ रहेका थिए।
उपप्रधान तथा गृहमन्त्री छँदा र त्यसपछि पनि निधिले भवन निर्माण सम्पन्न गर्न सरोकारवाला निकायलाई सँधै दबाब दिइरहेका थिए ।
जनकपुरधामको तिरुहतिया गाछी स्थित जिल्ला प्रहरी कार्यालय धनुषाको ठीक सामुन्ने दक्षिणतर्फ रहेको ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ निर्माणका लागि तत्कालिन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय हालको संघीय आयोजना कार्यन्वयन इकाइ कार्यालयले २०६५ अषाढ ३० गते ७ करोड २४ लाख ६८ हजार ८८९ को ठेक्का लगायो।
निर्माणको लागि कालिका रमण जेभी कम्पनीले ठेक्का पायो । ६ सय मानिस बस्नसक्ने सिट क्षमता भएको सभाहल तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा भए पनि पूणर्ता पाउन दुई दशक भन्दा पनि बढी समय लाग्यो।
पटक-पटक सम्झौताको म्याद थप हुँदै अन्ततः ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ तयार भएको छ।
करिब २.१५ बिघा क्षेत्रफलमा फैलिएको सांस्कृतिक केन्द्र परिसरभित्र पुस्तकालय भवन, संग्रहालय ब्लक, कम्पाउन्ड वाल, पार्किङ, सार्वजनिक शौचालय, क्यान्टिन ब्लक, दुई सय जना क्षमताको कन्फरेन्स हल र ६ सय जना क्षमताको सभा हल लगायतका संरचना रहेका छन्।
केन्द्र परिसरभित्र रहेको सांस्कृतिक सभा हललाई सञ्चालनमा ल्याउनका लागि फिनिसिंग, कार्पेट, कुर्सी जडान, रंगरोगन, बत्ती जडान लगायत आवश्यक कार्यका लागि सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई मार्फत निर्माण कार्य सम्पन्न भइ सम्पूणर् संरचना सञ्चालन योग्य अवस्थामा आइसकेको इकाइ प्रमुख इन्जिनियर प्रदीप खनालले बताए।
हालसम्म केन्द्रभित्र विभिन्न संरचना निर्माणका लागि १२ करोड २४ लाख ७९ हजार ३४० रूपैयाँ (भ्याटबाहेक) खर्च भएको प्रमुख खनालले जानकारी दिए।
निर्माण सम्पन्न भएपनि प्रयोग विहिन अवस्थामा रह्दा उक्त केन्द्रको भवनमा नेपाल प्रहरीले वर्षौंसम्म ‘अनाधिकृत’ रूपमा आफ्नो वासस्थानको रूपमा प्रयोग गर्दै आइरहेको थियो ।
सामुन्ने रहेको जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानहरूले भवनलाई वासस्थानको रूपमा प्रयोग गरिरहेका थिए ।
सुरूमा जिल्ला प्रहरी कार्यालयका जवानमात्र बस्दै आएको त्यो भवनमा पछिल्लो समय प्रदेस प्रहरीले समेत डेरा जमाएका थिए।
सरोकारवाला निकायले त्यहाँबाट प्रहरी हटाउन दबाब समेत दिएका थिए । तर, जिल्ला प्रहरी कार्यालयले आफ्नो ब्यारेक बनाइसकेपछि मात्रै त्यहाँबाट प्रहरीले बास स्थान हटायो ।
प्रहरीले वासस्थानका रूपमा प्रयोग गर्न थालेको कारण पनि भवन निर्माण सम्पन्न गर्न ढिलाइ भएको बताइएको थियो।
प्रहरीको वासस्थान बाहेक समय समयमा हुने निर्वाचनको लागि समेत ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृति केन्द्र’ को निर्माणाधीन भवनलाई प्रयोग गरिएको थियो ।
२०७० सालको संविधानसभा निर्वाचन तथा पछिल्लो निर्वाचनमा समेत निर्माधीन भवन प्रयोगमा ल्याइएको थियो।
अझ भवन हस्तान्तरणबारे ‘अन्योलता’
निर्माण कार्य सम्पन्न भइसकेपछि भवन हस्तान्तरणको विषयबारे अझै अन्योलता देखिएको छ। निर्माणपछि ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ स्थानीय तह वा प्रदेस कुन निकायलाई जिम्मा लगाउनेबारे अझै टुंगो लाग्न नसकेको संघीय आयोजना कार्यान्वयन इकाईका प्रमुख खनालले बताए।
कतिपयले सांस्कृतिक केन्द्रलाई स्थानीय तहको जिम्मा लगाउनुपर्ने तर्क गरेका छन् भने प्रदेस सरकारलाई हस्तान्तरण गर्नुपर्ने राय पनि आएको छ।
हस्तान्तरण गर्ने निकायको टुंगो नलाग्दासम्म तत्कालका लागि सांस्कृतिक केन्द्र सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनुषाको मातहत नै रहने प्रमुख खनालले बताए ।
‘सभा हलमात्रै नभएर सांस्कृति केन्द्र समेत स्थापना गर्ने कुरा छ। यसलाई कुन निकायको मातहत राख्ने भन्ने टुंगो लागि सकेको छैन। टुंगो नलाग्दासम्म सहरी विकास कार्यालय अन्तर्गत नै रहने भयो,’ खनालले भने, “गठन आदेश बनाउने कुरा पनि उठेको छ। स्वायत्त निकाय नै बनाएर हस्तान्तरण गर्नुपर्ने रायहरू आएका छन्। चाँडै टुंगो लाग्ला।”




