जनकपुरधाम- धनुषाको धनौजी गाउँपालिका-५स्थित वासुदेव उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु तत्काल शिक्षक अभावको समस्या समाधान गर्नु माग गर्दै आन्दोेलित भएका छन् ।
पटक-पटक प्रधानाध्यापक रहमतुल्ला मंसुरी राइनलाई शिक्षक अभावको कारण पठन पाठनमा समस्या भएको जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएपछि विद्यार्थीहरुले आइतबारदेखि विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।



कम्तिमा १८ वटा शिक्षक अनिवार्य रुपमा हुनु पर्ने माग विद्यार्थीहरु अघि सारेका छन् । शिक्षकको तत्काल दरबन्दी गरिनु पर्ने एक सुत्रीय माग राखि विद्यार्थीहरुले आइतवार बिहान विद्यालयको प्रशासन तथा प्रधानाध्यापकको कक्षमा तालाबन्दी गर्दै अनिश्चितकालीन विद्यालय बन्दको आह्वान गरेका छन् ।
शिक्षकको अभावमा पठन-पाठन अवरुद्ध भएको लामो समय बितिसक्दा पनि शिक्षक आपूर्ति गर्न कुनै पक्षले चासो नदिएछि बाध्य भएर आफूहरु तालाबन्दी गर्न बाध्य भएको विद्यार्थीहरुले बताए ।
पटक पटक शिक्षक अभाव बारे वडा अध्यक्ष वाकुम कवाडीलाई जानकारी गराउँदा पनि कुनै चासो नलिएको भन्दै सयौंको संख्यामा रहेका विद्यार्थीहरुले धनौजी गाउँपालिका -५ बहुअर्वाको कार्यालयमा समेत तालाबन्दी गरेका थिए । सो तालाबन्दी एक घण्टा पछाडि नै तोडिएको बुझिएको छ ।
गत आर्थिक वर्षको माघ महिनादेखि विद्यालय व्यवस्थापन समिति विहीन बनेको २०१२ सालमै स्थापित यो विद्यालयको ३६ बिघा भन्दा बढी जग्गा रहेको छ । विद्यालयमा विज्ञान,सामजिक लगायतको शिक्षकको अभाव रहेको देखिएको छ
यता विद्यालयका कार्यकारी प्रधानाध्यापक शान्त दाहालले विद्यार्थीहरु माग जायज रहेको भन्दै सरोकारवालाहरुको मौनता प्रति खिन्नता व्यक्तm गरेका छन् । व्यवस्थापन समितिको चुनाव तत्काल गराई विद्यालयको समग्र विकासकालागि बाटो खोलिनु पर्ने र यसमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा समेत राखे ।
सोही विद्यालयबाट अध्ययन गरेका विद्यार्थी तथा वर्तमान शिक्षक संजय साहले आफुू पढेको बेलाको अवस्था भन्दा पनि अहिलेको अवस्था दयनीय बनेको दुखेसो पोखे । विद्यार्थीको संख्याको अनुपातमा विद्यालयको भौत्तिक संरचनालगायतको विकास नभएको बताउँदै उनले भने,‘अहिलेकै अवस्थाको कुरा गने हो भने यहाँको कक्षाहरुलाई सेक्सनमा विभाजन गर्नु पर्ने अवस्था छ तर हामीले जनशक्ति अभावमा दुईटा कक्षालाई एउटैमा राख्नु पर्ने बाध्यता छ।’
विद्यार्र्थीहरुको मागलाई जायज बताउँदै प्रधानाध्यापक रहमतुल्ला मंसुरी राइन विद्यालय बाहिर रहेको जानकारी दिए । उनी फिर्ता आएपछि मात्रै आधिकारिक रुपमा केहि भन्न सकिने उनले स्पष्ट पारे ।
यता धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहले विद्यार्थीहरुको आन्दोलन जायज रहेको बताउँदै यथाशीघ्र प्रधानाध्यापक रहमतुल्ला मंसुर राइनले तत्काल पहल गर्नु पर्ने धारणा राखे । विद्यालय व्यवस्थापन समिति विहिन भएकोले यस प्रकारको समस्या उत्पन्न भएको बताउँदै उहाँले भन्नुभयोे,‘हामिले विद्यालयमा समिति गठनका लागि एक महिना अघि नै पत्राचार गरिसकेका छौं तर प्रअ राइनले ध्यान दिनु भएको छैैन।’
यता प्रअ राइनले शिक्षकको सरुवा सहमति सम्बन्धमा समस्या रहेकोले शिक्षकको अभाव भएको बताउनु भयो । वार्ड कार्यालल,नगरपालिकासंग समन्वय गरी समस्या समाधानकोे लागि पहल गर्ने उहाँले बताउनु भयो । विद्यार्थीहरुको माग जायज रहेकोले समस्या समाधानकालागि अभिभावकलगायतका सरोकारवालाहरुको सहयोग आवश्यक रहेको उनले प्रष्ट पारे ।
प्र्रअ रहमतुल्ला राईन तथा धनौजी गाउँपालिका -५ बहुअर्वाका वडा अध्यक्ष वाकुम कवाडीको लारपारवाहीले विद्यालयको अवस्था दयनीय बन्दै गएकोे स्थानीयवासीहरुले आरोप लगाएका छन् ।




