काठमाडौं – मेडिकल व्यावसायी दुर्गा प्रसाईँको नेतृत्वमा आज पनि काठमाडौंमा प्रदर्शन हुने भएको छ । आज तीनकुनेलाई केन्द्र बनाएर आन्दोलनलाई जारी राख्ने प्रसाईँले जनाएका छन् ।
‘व्यवस्था परिवर्तन नभएसम्मका हाम्रो आन्दोलन जारी रहन्छ, शुक्रबार हामी तीनकुनेलाई केन्द्र बनाएर आन्दोलन गर्नेछौ’ उनले भने । उनका अनुसार सो आन्दोलन काठमाडौं उपत्यकाबाहिर केन्द्रित मात्र नभई ७७ जिल्लामा नै क्रमशः विस्तार हुनेछ ।



हिजो बल्खुमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा १३ जना घाइते भएको जनाउँदै प्रसाईँले भनेका छन्, ‘सबै मिसन ८४ भनेर लागेका छन् तर हामी मिसन ८५ होइन हामी मिसन टुडेमा छौँ र हामीले यो व्यवस्था परिवर्तन गरिछाड्ने छौँ।’
उनको नेतृत्वमा हिजो भएको प्रदर्शनमा हजारौं मानिसहरू बल्खुमा उपस्थित भएर समर्थन जनाएका थिए ।
दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियान र एमालेनिकट युवा–विद्यार्थी विशेषको शक्ति प्रदर्शनले चिसिँदो काठमाडौं उपत्यकाको माहौल तताएको छ ।
लामो समययता प्रचारित दुवै पक्षको र्याली र प्रदर्शन हेर्न लायक बन्यो, भलै प्रचार गरेअनुसार मान्छेको उपस्थिति नभए पनि । युवा संघको कार्यक्रम सकिएको छ । प्रसाईं समूहको कार्यक्रम भने जारी छ ।
तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन – काठमाडौं प्रशासन
जिल्ला प्रशासन कार्यालय काठमाडौंले भाइरल म्यान दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत आजदेखि घोषणा गरिएको आन्दोलनको थप कार्यक्रमप्रति ध्यानाकर्षण भएको जनाएको छ । तीनकुनेमा कार्यक्रम गर्ने अनुमति नभएको बताएको हो ।
प्रसाईँले हिजो साँझ पत्रकार सम्मेलन गरी आजदेखि हरेक दिन तीनकुनेमा भेला भएर सिंहदरबार र राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका थिए । उक्त ठाउँमा कार्यक्रमका लागि अनुमति नदिएको प्रशासनले प्रष्ट्याएको छ ।
काठमाडौं प्रशासनका सहायक प्रजिअ रवीन्द्रप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानूनविपरीतका गतिविधि गरेमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।
‘सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने सुनिश्चिततासहित लिखित रुपमा माग भई आएमा आयोजकसँगको समन्वयमा उपयुक्त स्थानमा कार्यक्रमस्थल उपलब्ध गराई सुरक्षा प्रदान गरिने गरेको र आगामी दिनमा समेत सोही बमोजिम हुने व्यहोरा अवगत गराइन्छ’, प्रशासनले भनेको छ ।
हिजो बल्खुमा प्रदर्शनकारीहरू उत्तेजित भई कार्यक्रमस्थलभन्दा बाहिर झुण्ड झुण्डमा बाँडिएर सामाजिक सद्भाव बिथोल्ने, कानून निषिद्ध, अराजक, हिंस्रक एवम् दङ्गा भड्काउने अभिव्यक्ति दिने, निषेधित क्षेत्र प्रवेश गर्न खोज्ने र सुरक्षाकर्मीमाथि आक्रमण गरेकाले पानीको फोहोरा र केही सेल अश्रुग्यासको प्रयोग गरी स्थितिलाई नियन्त्रणमा लिइएको प्रशासनले जनाएको छ।





