जनकपुरधाम- भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको दिन मधेश प्रदेशमा सार्वजनिक बिदा दिन माग गरिएको छ ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले मुख्यमन्त्री सरोजकुमार यादवलाई आज ज्ञापन पत्र बुझाउँदै माग गरेका छन् ।



अगामी माघ ८ गते अर्थात् जनवरी २२ तारेखमा राममन्दिरको प्राण प्रतिष्ठा हुँदै छ । सो दिन प्रदेशभरि सार्वजनिक बिदा दिइ र दिपावली मनाउन ज्ञापन पत्रमा माग गरिएको छ ।
‘यस पावन र ऐतिहासिक अवसरलाई माता सीताको माइती (नैहर) बाट संसारलाई त्रेता युगीन भगवान श्री रामजानकीको पौराणिक वैवाहिक सम्बन्धको सन्देश दिन सरकारी रूपमा उत्सव मनाउन २२ जनवरी २०२४, तद्नुसार २०८० माघ ८ गतेका दिन मधेस प्रदेशमा सार्वजनिक बिदाको घोषणा तथा प्रदेशवासीलाई उक्त दिन दीपावली मनाउन आग्रहपूर्ण सन्देश दिनका लागी विनम्र अनुरोध गर्दछौं,’ ज्ञापनपत्रमा उल्लेख छ।
‘श्रीराम मन्दिरको समुद्घाटन तथा श्रीरामलीलाको प्राण प्रतिष्ठाको सुखद खबरले संसारकै हिन्दू धर्मावलम्बीहरूमा गौरव तथा हर्षोल्लास छाएको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘माता सीताको ससुरालीमा हुने हर्ष बढाइँमा सहभागी हुन समग्र मधेश प्रदेश तथा मिथिलामा विभिन्न कार्यक्रमका साथै दीपावली मनाउन गइरहेको छ ।’
वर्षौंको विवादपछि भारतको अदालतको निणर्यअनुसार अयोध्यामा भगवान रामको विशाल मन्दिर निर्माण भई मन्दिरको समुद्घाटन तथान श्रीरामललाको प्राण प्रतिष्ठाको सुखद खबरले विश्वकै हिन्दु धर्मावलम्वीहरूमा गौरव तथा हर्षोल्लास छाएकाले सो दिन दिपावली मनाउन आग्रह गर्दै प्रदेशमा सार्वजनिक बिदा दिन आग्रह गरिएको छ ।
जानकी मन्दिरमा माघ ८ गते डेढ लाख दीप प्रज्वलन गर्ने तयारी गरिएको छ । जनकपुरधामका मेयर मनोज साहले पनि नगरवासीलाई दीपावली मनाउन अनुरोध गरेका छन् ।




