महोत्तरी — मधेस प्रदेशमा प्रहरी प्रशासनले साम्प्रदायिक सद्भाव कायम गर्न अभियान थालेको छ । सोमबार महोत्तरीको सम्सी गाउँपालिका-१ र ३ मा हिन्दु र मुस्लिम समुदायका ब्यक्तिहरुसँग छुट्टा-छुट्टै अन्तरक्रिया गरी अभियान सुरु गरेको प्रहरीले जनाएको छ । अभियान लिएर सम्सी पुगेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको प्रहरी टोलीले स्थानीयसँग शान्ति सुरक्षाबारे अन्तरक्रिया गरेको सशस्त्र प्रहरी मधेस प्रदेशका प्रमुख (डिआईजी) दिपेन्द्र साहले जानकारी दिए ।
मधेसका विभिन्न जिल्लामा बेलाबखत साना विषयबाट साम्प्रदायिक द्वन्द सिर्जना हुने गरेकाले कसरी सद्भाव कायम गर्न सकिन्छ भन्ने योजना अनुरुप प्रहरीले यस्तो अभियान सुरु गरेको साहले बताए ।
समुदायमै पुगेर प्रहरीले सद्भाव कायम गराउन यस्ता कार्यक्रम संचालन गर्ने योजना लिएको साहले बताए । अन्तरक्रियामा स्थानीयले जुनसुकै धर्म मानेता पनि आफूहरुमा द्वन्द्व नहोस् भन्ने चाहाना रहेको बताएका छन् । सानो कुरालाई धर्ममा जोड्ने र ठूलो बिषय बनाएर द्वन्द्व सिर्जना गर्ने कार्य ब्यक्तिबाट सुरु हुने भएकाले त्यस्तो ब्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गर्न पनि उनीहरुले प्रहरीलाई आग्रह गरेका छन् ।
जात र धर्मका नारा लगाएर अहिलेपनि एकाअर्कामा घोचपेच भइरहेकाले सबै नारा छाडेर ‘हामी सबै नेपाली’ भन्ने मुल मर्मलाई अघि सार्नुपर्ने स्थानीय महमद मफुल आलमले बताए । साम्प्रदायिक सद्भाव भड्काउन केही तत्व सक्रिय हुने भएकाले सुरक्षा निकायलाई चनाखो रहन आग्रह गरेको बताउँदै महोत्तरी प्रहरी प्रमुख एसपी श्याम कुमार राईले स्थानीय र सबै समुदाय पनि सचेत रहनुपर्ने बताए ।
परिवार, छिमेकी, दाजुभाईमै हुने किसिमका झगडालाई अनावश्यक कोही कसैले पनि धर्मसँग जोड्न नहुने महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । आपसी भाइचारा कायम राखी सबैमा सद्भाव बाढ्ने र असल नागरिक बन्ने प्रयत्न गर्न उनले सबैलाई आग्रह समेत गरे ।
महोत्तरीबाट सुरु भएको साम्प्रदायिक सद्भाव कायम गराउने अभियान मधेसका ८ वटै जिल्लामा संचालन हुने प्रहरीले जनाएको छ । पहिलो चरणमा छुट्टा-छुट्टै समुदायसँग बसेर अन्तरक्रिया गरिने र दोस्रो चरणमा पुन सबै समुदायलाई एकै ठाउँमा राखेर अन्तरक्रिया गर्ने योजना रहेको नेपाल प्रहरीका मधेस प्रदेश प्रमुख (डिआइजी)यज्ञ विनोद पोखरेलले जानकारी दिए ।







