सन्तोष यादव,जनकपुरधाम – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेशका मुख्यमन्त्री सांसद सतिशकुमार सिंह बनाउने निर्णय लिएका छन् । सतिश सप्तरी २(१)बाट निर्वाचित सांसद हुन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ घर भएका सतिशका बुवा शेखरकुमार सिंह राष्ट्रियसभा सदस्य छन् । तत्कालीन राजपा (अहिलेको लोसपा) बाट शेखर राष्ट्रियसभा सदस्य चुनिएका हुन् ।
सतिश पनि तत्कालीन राजपामा लामो समय सक्रिय थिए । सोही पार्टीबाट उनी ०७४ को स्थानीय तहको चुनावमा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए ।
०७९ को स्थानीय तहको चुनावमा पनि सोही पार्टीबाट पुनः गाउँपालिका अध्यक्षमा भिडेका थिए । तर पराजित व्यहोरे । त्यसपछि उनले लोसपामा भविष्य देखेनन् । र, प्रदेशसभा सदस्यमा चुनाव लड्न जनमत पार्टीमा प्रवेश गरे । जनमतको लहर देखेर चुनावी मैदानमा उत्रेका उनी निर्वाचित हुन सफल भए ।
सतिशका परिवार पुरानो धनी भएको स्थानीय बताउँछन् । अहिले पनि गाउँमा उनको परिवारको दबदबा छ । गाउँका सर्वसाधारणले उनको परिवारको सदस्यलाई ‘मालिक’ सम्बोधन गर्छन् ।
सतिशका बुवा शेखर ०३५ सालदेखि राजनीतिमा लागेका छन् । तर ०६९ मा शरत सिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टीमा प्रवेश गरी राजनीतिमा सक्रिय भएका थिए । सोही पार्टीबाट उनले संसदीय क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार भएका थिए । जीत भने हासिल गने सकेन ।
मधेश आन्दोलनमा सक्रिय भूमिका खेलेका शेखर मधेशवादी पार्टीहरू एकीकरण भई निर्माण भएको राष्ट्रिय जनता पार्टी (राजपा) मा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका थिए ।
पार्टीमा असन्तुष्टि बढ्यो
दलका नेता महेशप्रसाद यादवलाई बाइपास गरी सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय अध्यक्ष राउतले एकलौटी ढंगले गरेको एक सांसदले बताए ।उनले भने, ‘सत्ता गठबन्धनले जनमतलाई मुख्यमन्त्री दिने निर्णय गरेपछि पार्टीका नेता कार्यकर्ताहरू खुशी थिए । जनताले मुख्यमन्त्रीको रूपमा यादवलाई बधाई पनि दिन भ्याए । तर, आज अध्यक्षजीबाट सिंहलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्न निर्देशन आयो ।’
दलका नेता यादवलाई मुख्यमन्त्री बनाउने निर्णय नगरेको भन्दै पार्टीमा असन्तुष्टि बढेपछि सिंहलाई दलका नेता बनाउने खोजिएको छ । दलका नेता यादव र मुख्यमन्त्री सिंह बनेपछि अप्ठ्यारो पर्न सक्छ । त्यसैले यादवलाई हटाएर अध्यक्ष राउतले सिंहलाई नै दलको नेता बनाउन खोजेका छन् ।मधेशमा जनमतका १३ सांसद छन् । सिंहलाई दलका नेता बनाउने विषयमा छलफल चलिरहेको एक सांसदले पुष्टि गरे ।
उनले भने, अहिले निर्णय भएको छैन । सिंहलाई दलका नेता बनाउन अध्यक्षजीले दबाब आइरहेको छ ।’एकलौटी ढंगले दलका नेता सिंहलाई बनाउने निर्णय गरिए पार्टीमा अझ विवाद बढ्ने उनले सुनाए ।-नेपाल प्रेस


