जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सबै खालको विभेद अन्त्य भएपछि मात्र लोकतन्त्र सार्थक हुने बताएका छन् ।
जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उनले समावेशी लोकतन्त्रमार्फत समानता ल्याउन र विभेद अन्त्य गर्दै समाजवादतर्फ जान सकिने बताए ।
अध्यक्ष यादवले पूँजीवादी लोकतन्त्रको विकल्पमा समाजवादी लोकतन्त्र भनेर आफूहरुको स्पष्ट धारमा अगाडी बढ्नेमा एकमत भएको बताए ।
उनले भने, ‘सबै खालको विभेद अन्त्य भएपछि मात्र लोकतन्त्र सार्थक हुन्छ । समावेशी लोकतन्त्रमार्फत समानता र विभेद अन्त्य गर्दै समाजवादतर्फ जान सकिन्छ । पुंजीबादी लोकतान्त्रको विकल्पमा समाजवादी लोकतन्त्र भनेर स्पष्ट धारमा अगाडी बढ्नेमा एकमत भएका छौं ।’
अध्यक्ष यादवले जस्तोसुकै परिस्थितिको सामना गर्दै विभेदविरुद्ध अगाडि बढिरहने बताउँदै उनले हिन्दीको एक कविता सुनाउँदै भने, ‘एउटा साहित्यकारले भनेका छन्– आगे बढ़ते चलो, सर कटाते भी चलो….। हामी यहि अबस्थामा अगाडी बढ्दैछौं । बढिरहनेछौं ।’
पार्टी फुट्नु दुर्भाग्यपूर्ण घटना बताउँदै अध्यक्ष यादवले ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरिन’ जस्तै कही व्यक्ति चोइटिएर गएको टिप्पणी गरे । उनले भने, ‘केही व्यक्ति चोइटिएर गए । त्यसले महाधिवेशनलाई केहि प्रभाव पारेन । तपाईहरु पनि हेरिहाल्नुभो ।’
‘दुई तलबारको धारबीच मधेश आन्दोलन अगाडि बढेको थियो’, उनले भने, ‘पार्टी फोडेर हामीलाई कमजोर पार्न खोज्यो । पटक पटक यस्तो भयो । अहिले पनि बेला बखत हामीविरुद्ध षड्यन्त्र भइरहेको छ । धेरै आयाराम, गयाराम र पल्टुरामसंग भेट भइरह्यो ।’
अध्यक्ष यादवले सैद्धान्तिक र वैचारिक रुपमा पार्टी स्थापित भएको दावी गरे । उनले मधेश मुक्तिका लागि तथा जातीय र वर्गीय उत्पीडनबाट मुक्तिका लागि स्पष्ट धारको विकास पनि महाधिवेशनबाट भएको बताए ।


