जनकपुरधाम – खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरधामका निमित प्रमुख राजेश्वर कुशवाहा माथि भएको दुर्व्यवहार घटनाको थप अनुसन्धानका लागि पक्राउ परेकाहरुलाई अझ ७ दिन थुनामा राख्न म्याद थप गरिएको छ ।




शुक्रवार मुद्दा दर्ता तयारी रहेपनि सरकारी वकिल कार्यालयको सल्लाहमा थप अनुसन्धानका लागि अदालतबाट ७ दिन म्याद थप गरिएको जनाइएको छ ।

जिल्ला प्रमुख अधिकारी वन्धु प्रसाद वास्तोलाको अनुसार राष्ट्र सेवक कर्मचारीलाई छापामार शैलीमा कुटपिट तथा अर्धनग्न गरी बजार घुमाउनु सहितका गरिएको दुर्व्यवहार घटनामा संलग्न प्रहरी नियन्त्रणमा रहेका १७ जना विरुद्ध आजै मुद्दा दर्ता गराउने तयारी रहेको तर थप अनुसन्धानका लागि ७ दिन म्याद थप गरिएको हो ।
प्रजिअ बास्तोलाले घटना सम्बन्धमा थप अनुसन्धान गरी अभियोग पत्र दायर गरी राज्य उपद्रवीको मुद्दा चलाइने उनले जानकारी दिए । घटनामा अझै आरोपित हुन सक्ने आशंका रहेकोमा तिनीहरुलाई पनि नियन्त्रणमा लिइने बताए ।
खानेपानी प्रमुख कुशवाहालाई जनमत पार्टी अध्यक्ष सिके राउतको निवास जाने बाटो निर्माण नगरिएको भन्दै उनका कार्यकर्ताहरुले जनकारवाही भन्दै कार्यालयमा प्रवेश गरी कुटपिट गर्दै अर्धनग्न गरेर नगर परिक्रमा गराएको थियो ।
घटना पश्चात प्रहरी ६२ जनालाई पक्राउ गरेकोको थियो । जसमध्ये १७ जनालाई मुद्दा चलाउनु पर्ने देखिएको र बाँकी ४५ जनालाई अवेर राती हिरासत मुक्त गरिएको थियो । हाल प्रहरी नियन्त्रणमा रहेका १७ जना मध्ये सिरहाका ७ जना, धनुषाका ६ जना, महोत्तरीका ३ जना र सर्लाहीका एकजना रहेका छन् ।
सिके राउतलाई कारवाहीको मांग गर्दै प्रदेश २ का इन्जिनीयरहरु सडकमा
खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुर्व्यवहारको विरोधमा घटनामा संलग्न डा. सिके राउत र उनको नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुलाई कारवाहीको मांग गर्दै प्रदेश २ का इन्जिनीयरहरु आन्दोलनमा उत्रिएका छन् ।

नेपाल ईन्जिनियर एशोसएसन प्रदेश २ का ईन्जिनियरहरु शुक्रवार विरोध जुलुश निकालेर जनमत पार्टी र जनमत पार्टीका अध्यक्ष सिके राउत बिरुद्ध चर्को नारावाजी गरे । जुलुसमा सहभागी ईन्जिनियरहरुले पीडित ईन्जिनियरलाई न्याय दे, सिके राउतलाई कारवाही गर, ईन्जिनियर सुरक्षाको ग्यारेण्टी गर, सिके राउतको ईन्जिनियरिंग दर्ता खारेज गर लगायतका मांग सहितको नारा लगाएका छन ।

जुलुसमा सहभागी इन्जिनीयरहरुले प्रदर्शनको क्रममा भानु चोक नजिक रहेको जनमत पार्टीको कार्यालयमा ढुंगामुढा सहित सिके राउतको झुण्डयाइएको फोटोमा आगजनी समेत गरे ।
सो जुलुश नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा पुगेर प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद वास्तोलालाई सिके राउतमाथि कारबाहीको माग गर्दै ज्ञापन पत्र समेत बुझाएका छन् ।
ज्ञापन पत्र बुझ्दै प्रजिअ वास्तोलाले राजनीतिक आवरणमा राष्ट्र सेवक कर्मचारीलाई छापामार शैलीमा गरिएको कुटपिट र अर्धनग्न गरी नगर परिक्रमा गराउने घटना अपराधिक र निन्दनीय रहेकोले घटनामा संलग्नहरुलाई कारवाही गरिने प्रतिबद्धता जनाएका थिए ।
प्रजिअले इन्जिनीयरहरुलाई दोषीलाई कुनैपनि हालतमा उम्किन दिदैनौ भन्दै घटनामा संलग्न १७ जनालाई पक्राउ गरी हिरासतमा राखिएको छ । थप अनुसन्धान गरी राज्य उपद्रवी मुद्दा चलाउने प्रतिबद्धता जनाएका थिए ।
जनमत पार्टीका कार्यकर्ताहरुले एक कर्मचारीलाई अर्धनग्न बनाएर सार्वजनिक रुपमा नगर परिक्रमा गराउनु कानूनी राज्यको उपहास भएको ठहर गर्दै घटनामा संलग्न र पार्टी नेतृत्वकर्तालाई अविलम्ब कारवाही सहितका मांग इन्जिनीयरहरुले ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।
पेशागत रूपमा एक ईन्जिनियर समेत रहेका जनमत पार्टीका प्रमुख राउतको यस कदमले ईन्जिनिरिङ्ग पेशाको गरिमा र मर्यादा हनन गरेकोले उनको नेपाल ईन्जिनिरिङ्ग परिषदको दर्ता प्रमाणपत्र समेत तत्काल खारेज गर्न नेपाल ईन्जिनियरिङ्ग परिषदसँग माग गरेका छन् ।
इन्जिनियर अगुवाहरु भावेश मिश्र र गौरी पण्डित सहितकाले न्याय नपाए आइतवार देखि काम बन्द हुने बताए ।
निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन धनुषा द्वारा पनि आन्दोलनको कार्यक्रम
२०७८ कार्तिक ४ गते जनकपुरधाममा सघिय खानेपानी तथा ढल निकास व्यवस्थापन आयोजना कार्यालयका प्रमुख राजेश्वर कुशवाहा उपर भएको दुर्व्यवहार विरुद्ध दोषी उपर कार्वाहीको माग गर्दै प्रदेश २ का प्रमुख सचिब र धनुषाका प्रजिअ निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन धनुषाले ज्ञापन पत्र बुझाउँदै कडा करवाहीको माग गरेको छ ।

कुशवाहा उपर भएको दुर्व्यवहार विरुद्ध दोषी उपर कारवाही तथा पिडितलाई न्याय दिलाउन एवं कर्मचारीहरुको मनोवल खस्काउन गरिने नियोजित अपराधिक बितन्डतालाई नियन्त्रण हेतु ग्राउन्ड जिरो स्थित निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन र राष्ट्रीय स्तरका ट्रेड युनियन सम्मिलित आन्दोलन परिचालन समिती गठन गर्ने निणर्य भएको आधिकारिक ट्रेड युनियनका अध्यक्ष देवेन्द्र मिश्रले जनाए ।

अध्यक्ष मिश्रले आन्दोलनलाई सम्बन्धित सबैले अपनत्व प्रदान गर्न र सर्वस्वीकार्य बनाई नतिजामुखी बनाउन आधिकारिक ट्रेडयुनियन, राष्ट्रीयस्तरका ट्रेडयुनियनहरु, सम्पुणर् पेशागत संघ/संगठन/महासंघ लगायतका संस्था सम्मेलित आन्दोलन समन्वय समिती गठन गर्ने समेत निणर्य भएको बताए । उनले आन्दोलनको स्वरुप र कार्यक्रमहरु तय गरेर शनिवार कार्तिक ६ गते नै प्रेस सर्कुलर गरीने जनाए।
सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप
जनकपुरमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच आज झडप समेत भएको छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका निमित्त प्रमुख इन्जिनियर राजेश कुशवाहालाई दुर्व्यवहार गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाहीको माग गर्दै नेपाल इन्जिनियर्स एसोसियनको अगुवाइमा विभिन्न पेसागत संघसंस्था ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेको बेला प्रहरी र सिकेका कार्यकर्ताबीच झडप भएको थियो ।
पेसागत संघसंस्थाका प्रतिनिधि जिल्ला प्रशासन कार्यालय पुगेको बेला जनमतका कार्यकर्ता लाठीभाटा सहित पुगेर उनीहरूसँग विवाद गर्न थालेपछि सम्भावित कुनै अप्रिय घटना नहोस् भन्ने अभिप्रायले प्रहरीले हस्तक्षेप गरेको थिए। प्रहरीले हस्तक्षेप गरेपछि केहि बेर जनमतका कार्यकर्ता प्रहरी बीच झडप भएको थियो ।
झडपको क्रममा प्रहरीले लाठी चार्ज गर्न थालेपछि जनमत पार्टीका कार्यकर्ताहरु तितरबितर हुँदै भागे पछि स्थिती सामान्य भएको थियो । प्रहरीले जनमतका कार्यकताले बोकेका ब्यानर, लाठीभाटाहरु समेत खोसेको थिए ।




