जनकपुर – नेपाल पत्रकार महासंघले सात दशक लामो इतिहासमा पहिलोपटक महिलाको नेतृत्व पाएका छन् । प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनबाट निर्मला शर्मा अध्यक्ष बन्न सफल भएकी छिन् । शर्मासँगै अध्यक्षका लागि रमेश विष्ट, देवीप्रसाद सापकोटा र लालसिंह लामा प्रतिस्पर्धामा थिए । शर्माका निकटतम प्रतिद्वन्द्वी विष्टले प्रेस युनियनबाट विद्रोह गरेर प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायतको समर्थनमा उम्मेदवारी दिएका थिए ।
त्यस्तै, शर्मा प्यानलकै वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महिला उपाध्यक्षमा नीतु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द र महासचिवमा रामप्रसाद दाहालले निर्वाचित भएका छन् भने कोषाध्यक्षमा प्रेस सेन्टरका रामकृष्ण अधिकारी निर्वाचित भएका छन् । निर्वाचन सम्पन्न भएको ३ दिन बितिसक्दा पनि नेपाल पत्रकार यद्यपी महासंघको भावी केन्द्रिय नेतृत्वको औपचारिक घोषणा अझै पनि हुन सकेको छैन् ।



गत मंसीर २८ गते देशभर सम्पन्न भएको निर्वाचन मध्ये एसोसियट, प्रदेश, जिल्लाहरूको मत परिणाम र विजयी नेतृत्वको नाम सार्वजनिक भइसक्दा पनि केन्द्रको भने अझै हुन नसकेको हो । ‘अहिले धमाधम मत परिणाम लिस्टिङ भइरहेको छ, रि चेक गर्ने काम पनि भइरहेकाले मत परिणाम आउन ढिलो भएको हो,’ महासचिवका उम्मेदवार रामप्रसाद दाहालले भने, ‘बेलुकासम्म सबै परिणाम घोषणा भइसक्छ ।’




