राधेश्याम कुशवाहा,सर्लाही(गोडैता )– सर्लाहीको गोडैता नगरपालिका वडा नम्वर २ जयपुर गाउँमा रहेका श्रीजनता आधारभूत विद्यालयमा पठनपाठन सुचारु रहने गरी कार्यालय र जिन्सी शाखामा अनिश्चितकालिन तालाबन्दी गरिएका छन् ।
श्रीजनता आधारभूत विद्यालयका प्रधानाध्यापक गर्भु महतोले विद्यालयमा अध्ययनरत छात्रछात्राहरुको लागि आउने गरेका सुविधाहरु वितरण नगरी शिक्षकहरु आपसमै बाँडफाड गरेर चरम अनियमतिता गर्दै आएको आरोप लगाउदै मंगलवार चार जना शिक्षकलाई अफिस कोठामा बन्द गरेर ताल्चा लगाएका थिए ।
सो वडाका वडाध्यक्ष अजय साहले मंगलवार साँझ ताला खोलाएर शिक्षकलाई मुक्त गराइएपनि आज बुधवार विद्यालयमा नियमित रुपमा अध्ययन अध्यापन सूचारु रहने गरी अफिस र जिन्सी शाखामा वडाध्यक्ष साह आफैले ताला लगाइदिएका छन् ।
यूएनडिपी तथा चाइना एडको आर्थिक सहयोगमा विद्यालयका विद्यार्थी तथा अभिभावकहरुलाई वितरण गर्न आएको सामग्री विद्यालयका शिक्षक तथा समितिका सदस्यहरु आफूखुशि बाडँफाड गरेको विरोधमा अभिभावहरुले हिजो विद्यालयमा विरोध प्रदर्शन गरेका थिए ।विद्यालयमा ठुलो संख्यामा पुगेका स्थानियवासीहरुले विद्यालयका प्रधानाध्यापक गर्भु महतोलाई वार्ताका लागि बोलाउदा समेत नआएको र फोन समेत नउठाए पछि आक्रोशित स्थानियवासीहरुले विद्यालयका शिक्षकहरु तथा समिति सदस्यहरुलाई कार्यलयमै थुनेर ताल्चा लगाएको थियो ।



शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु घण्टौं कार्यालयमा थुनिन पुग्दा पनि प्रअ महतो स्थानियवासी संग वार्ताका लागि नआएको स्थानियवासी श्यामसुन्दर महतोले बताए ।प्रअ महतो मोबाईल स्विच अफ गरेर बसेको र स्थानियवासीको जायज मागका लागि वार्तामा नआई गैरजिम्मेवारीपना देखाउदा थप आक्रोशित बनाउन खोजेको आरोप लगाए ।वडाअध्यक्ष साहका अनुसार विद्यालयका शिक्षक तथा सदस्यहरुले अभिभावक तथा विद्यार्थीका लागि वितरण गर्न राखिएका सामग्रीहरु आफूहरु लगेको स्विकारे ।
शिक्षक तथा सदस्यहरुले लगेका सामग्री फिर्ता गरिने र रविवारका दिन विद्यालय प्रअ, अभिभावक, जनप्रतिनिधि तथा स्थानिय भद्रभलादमीको उपस्थितिमा छलफल हुने गरी सहमति गरिएको वडाअध्यक्ष साहको भनाई छ ।प्रधानाध्यापक गर्भु महतोको तानाशाही रवैयाका कारण विद्यालयमा पटक पटक विवाद हुदै आएका छन । विद्यालका प्रधानाध्याक महतोले विगत ५ बर्षदेखि विद्यालयमा विभिन्न जालझेल गरी विद्यालय व्यवस्थापन समिति प्रक्रियालाई जटिल र विवादित बनाउदै आएको स्थानिय सितल मुखियाले आरोप लगाए ।
महतोले समितिलाई पूर्णतया नदिई विद्यालयमा आफनो मनोपली चलाउदै आएका छन, भने साथै विभिन्न शिर्षकहरुमा आर्थिक अनियमितता गर्दै आएका छन । अभिभावहरुले विद्यालयमा भएको हिसाबकिताब तथा सुचनाको हक माग्दा समेत प्रअ महतो अस्विकार गर्दै आएका स्थानियको भनाई छ ।
प्रअ गर्भु महतो रवैयाका कारण विद्यालयका शैक्षिक गतिविधिहरु समेत प्रभावित हुदै आएका छन । प्रअ जस्ता जिम्मेवार व्यक्तिले शिक्षाको मन्दिरलाई राजनितिक अखडा बनाएको र उनकै कारण विद्यालयका शैक्षिक गतिविधि तथा भौतिक पूर्वाधार निर्माण पूर्ण रुपमा प्रभावित भएको हुँदा यस्ता व्यक्तिलाई निलम्बन गरेर आवश्यक कारवाही गर्नुपर्ने स्थानीयले माग गरे ।
मंगलवार दिन साँझका समयमा विधालयमा युएनडिपी र चाईना एडको सहयोगमा विधार्थीहरुलाई बाडन आएको सामग्रीहरु विधालयका शिक्षकहरु र समितिहरु अभिभावकहरुलाई जानकारी नदिई आफुखुशी सामानहरु घरमा लैजान खोज्दा स्थानीयले नियन्त्रणमा लिएको थियो ।




