महोत्तरी। महोत्तरी जिल्लाको औरही नगरपालिका वडा ४ का कबिलशाका चन्देश्वर पण्डित बिहानैदेखि माटोको भाँडाकुँडा बनाउनमा यतिबेला ब्यस्त छन् ।
माटोको भाँडाकुँडा बनाउँदै आएका पण्डित अहिले खासगरि दियो, ढक्ना, खपरी बनाउनमा बढी केन्द्रित छन । आउँदै गरेको दिपावली र छठ पर्व लाई मध्यनजर गर्दै पण्डितले दिपावलीमा हरेक घरमा चाहिने दियो ढक्ना, खपरी लगायतका माटाका सामानहरु बनाउनमा खास ध्यान दिएका छन ।




दुई महिना अघिसम्म गाउघरमा किसानी ज्याला मजदुरी गर्दै आएका चन्देश्वर पण्डित अहिले भने आफनो पुर्ख्यौली पेशा माटोको भाँडाकुँडा बनाउनमा बढी केन्द्रित भएका हुन् ।नेपालीहरुको महान पर्व दिपावली तथा छठ पर्वमा बिशेषगरी प्रयोग हुने माटोको भाँडाकुँडाहरुको माग ह्वातै बढ्ने गरेको चन्देश्वर पण्डितको भनाई छ ।उनले त्यही भएर दशैंअघि देखि नै अरु सबै काम छोडी माटोको भाँडाकुँडा बनाउनमा ब्यस्त छन । उज्यालोको पर्व भनेर चिनिने दिपावलीमा हरेक घरमा माटोको दियो बालिने परम्परा रही आएको छ ।
गरिबदेखि धनाढय ब्यक्तिहरुको घरमा लक्ष्मीको बास होस भनेर लक्ष्मी पुजाको दिन घरघरमा दियो बाल्ने गरिन्छ । पहिलेदेखि नै मानिसहरु खास गरेर माटोबाट बनेको दियो लक्ष्मी पूजाको दिन बाल्ने गर्दछन ।दिपावली र छठ पर्वमा माटोले बनेका भाँडाकँुडा नभई हुँदैन । माटोको दियो बनाएर राख्दै गरेका चन्देश्वर पण्डितकाले ढक्ना खपरी लगायतका सामानहरु बनाएर नजिकैका गाउँगाउँमा लगेर बेच्ने गरेका छन् ।
माटोको दियो बिशेष गरी आउँदै गरेको दिपावलीमा बढी प्रयोग हुने भएकोले चन्देश्वर पण्डितकाले पहिले दियो तयार पारी साइकलमा बोकेर नजिकैको गाउँहरुमा लगेर बेच्ने सोच बनाएको बताउँछन् ।नजिकै रहेका औरही,गौशाला,सोनामा र रामगोपालपुर लगायतका गाउँहरुमा चन्देश्वर पण्डितकाले माटोको दियो बेच्ने गरेको बताउछन् । दिपावली नजिकिएसँगै चन्देश्वर पण्डितकाले दैनिक १ देखि ४ हजारसम्मको माटोको दियो विक्री गर्ने गरेको बताए । प्रति सयकडा १ सय रुपैयाँमा माटोको दियो विक्री हुने गरेको छ । यस्तै माटोबाट बनेको ढक्ना भने प्रति गोटा रु २० मा विक्री हुन्छ भने खपरी रु ३० देखि ५० रुपैयाँसम्ममा पनि विक्री हुने गरेको चन्देश्वर पण्डितकाको भनाई छ ।दिपावली र छठ पर्बमा माटोको भाँडाकुँडाको माग बढेपछि यहाँका सिमावर्ती भारत बिहारबाट पनि ब्यापारीहरुले माटोको दियो लगायतका भाँडाकुँडाहरु ल्याएर बेच्ने गरेका छन ।
अन्य समयको तुलनामा दिपावली र छठ पर्वमा माटोको भाँडोको ज्यादै माग हुन्छ, चन्देश्वर पण्डितकाले भने, हामीहरु सकेसम्म धेरै बनाउँछौ,त्य पनि माग धान्न नसक्दा छिमेकी भारत बिहारबाट पनि ब्यापारीहरु टायर गाडा, साइकल लगायतका सवारी साधनहरुमा माटोको भाडाहरु ल्याएर यहाँ बेच्ने गरेका छन ।चिप्लो माटो पाउनै कठिन पहिले पहिले माटोको भाँडा बनाउनमा प्रयोग हुने चिप्लो माटो सजिलै पाइन्थ्यो । तर अहिले त्यस्तो माटो नै पाउन निकै कठिन भएको चन्देश्वर पण्डितकाको भनाई छ ।
उनले अहिले आफनो गाउँबाट निकै टाढा रहेको गाउँबाट भाँडाकुँडा बनाउन माटो मगाउने गरेको बताउँछन् ।पहिले आफ्नै गाउठाउमा निशुल्क पाइने भाँडा बनाउन सकिने माटो पाउन छोडेपछि प्रति टयाक्टर रु ३ देखि ५ हजार तिरेर आफूले एक ट्याक्टर भाँडा बनाउने चिप्लो माटो मगाएको चन्देश्वर पण्डितकाको भनाइ छ ।
आधुनिकताले मौलिकता हराउँदै
पछिल्लो समय बढेको आधुनिकतासँगै माटोको दियोको सटामा मैनबत्तीको प्रयोग बढ्न थालेपछि आफनो पुर्खयौली पेशा अंगालेर जिवीकोपार्जन गर्दै आएका कुमाले समुदायका ब्यक्तिहरु चिन्तित बनेका छन ।दिपावलीमा नेपालीहरुको घरघरमा बालिने गरिएको माटोको दियाको सटा पछिल्लो समय मैनबत्तीको प्रयोग बढ्न थालेको छ ।
खासगरी शहरी क्षेत्र तथा आर्थिक रुपमा सम्पन्न मान्छेहरुले दिपावलीमा दियो बाल्नको लागि माटोले बनेको दियोको सटा मैनबतीको बढी प्रयोग गर्न थालेको पाइएको छ ।
पहिलेपहिले गाउँदेखि शहरसम्म पनि भ्याई नभ्याई माटोको दियो साइकल टायर गाडामा बेच्ने गरेको सुनाउँदै महोत्तरी औरही नगरपालिका वडा ४ कबिलशाका चन्देश्वर पण्डितले अहिले भने शहर भन्दा पनि गाउँमा मात्रै माटोले बनेको दियोको बढी प्रयोग हुने गरेको बताए ।बढदो आधुनिकासँगै हरेक चिजको बिकल्प भएपनि सकेसम्म माटोबाटै बनेको दियोलाई दिपावलीमा प्रयोग गर्दा आफ्नो रिती संस्कृति पनि रक्षा हुने उनको भनाई छ ।
पहिले पहिले मान्छेहरु माटोको भाँडाकुँडामा बनेको खाना खान्थे त्यो खाना निकै स्वस्थयकर पनि हुन्थ्यो तर अहिलेको स्टिलका भाँडाहरुमा बनेका खानेकुराको स्वाद पनि माटोको भाँडामा बनेको खानेकुराको स्वाद भन्दा फरक हुने गरेको चन्देश्वर पण्डितको भनाइ छ ।
माटोको भाडामा राखिएको पानी जहिले पनि चिसो हुने गर्दछ ।अनि स्वास्थयका लागि फाइदाजनक पनि तर, आजकल माटोको भाडामा पानी राखेर पिउने चलन नै हराएको चन्देश्वर पण्डितको भनाइ छ ।


https://www.facebook.com/104607344773010/posts/346228957277513/




