जनकपुरधाम – मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्र सुवेदी भण्डारीले नेपाल भारतको सम्बन्ध धार्मिक, सांस्कृतिक तथा कूटनीतिक रुपमा निक्कै प्रगाढ भएको बताउनुभएको छ ।
प्रदेश प्रमुख भण्डारीले भारतको ७६ औँ गणतन्त्र दिवसको अवसरमा वीरगञ्ज स्थित महावाणिज्य दूतावासले वीरगञ्जमा हिजो सोमवार साँझ आयोजना गरेको विशेष समारोहमा बोल्दै सो कुरा बताउनुभएको हो ।



उहाँले भारत सरकारले निरन्तर गरिरहेको प्रगतिबाट नेपाल सरकार तथा नेपाली जनता निक्कै खुशी भएको बताउँदै अगामी दिनमा भारत तथा भारतीय जनताको अझै उन्नति तथा प्रगति होस् भन्ने शुभकामना दिनु भयो । प्रदेश प्रमुख भण्डारीले भारतसँग नेपाल सम्मान जनक सम्बन्धका साथ अगाडी बढ्दै गएकोमा खुशी व्यक्त गर्नुभयो ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले भारतको स्वतन्त्रताको आन्दोलनमा धेरै नेपाली जनता तथा नेताको योगदान रहेको बताउँदै भारतमा गणतन्त्र स्थापना भएपछि निरन्तर प्रगतिको पथमा अगाडी बढेको बताउनुभयो ।

उहाँले नेपाल भारत बीचको सम्बन्ध बेटी रोटीको मात्र नभईकन वातावरण तथा सांस्कृतिक रुपमा पनि गहिरो रहेको बताउँदै नेपालको विकासमा भारत सरकारले गर्दै आएको सहयोग निक्कै महत्वपूर्ण भएको बताउनुभयो ।
भारतको बीरगञ्ज स्थित महावाणिज्य दूतावासका महावाणिज्यदूत मिना सहायले नेपाल भारत बीचको सम्बन्ध निक्कै पुरानो भएको बताउँदै नेपालको विकासमा भारत सरकारले पछिल्लो पटक ऊर्जाको क्षेत्रमा गरेको लगानी महत्वपूर्ण भएको बताउँदै यसले नेपालको आर्थिक विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले नेपालको शिक्षा, स्वास्थ्य तथा पूर्वाधारको क्षेत्रमा भारत सरकारले गर्दै आएको लगानी अगामी दिनमा जारी रहने बताउनुभयो ।

७६ औँ गणतन्त्र दिवस समारोहमा मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखी, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी, अर्थमन्त्री सुनिल यादव, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, वन तथा वातावरणमन्त्री त्रिभुवन साह, पूर्व मुख्यमन्त्री लालबाबु राउत, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, मधेश प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेल, सचिवहरू, नीति तथा योजना आयोगका पदाधिकारीहरू, मधेश प्रदेशका विशिष्ट पदाधिकारी तथा व्यक्तिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा भारतको राजस्थानका सांस्कृतिक गीत, सङ्गीत तथा नृत्य प्रदर्शन गरिएको थियो ।




