नुवाकोट- नुवाकोटको विदुर नगरपालिकामा पहिलो पटक “प्रथम विदुर खेलकुद तथा पर्यटन महोत्सव २०८१” आयोजना हुने भएको छ। माघ २७ गतेदेखि फागुन ७ गतेसम्म विदुर नगरपालिका–५, पिपलटारमा हुने महोत्सवको तयारी तीव्र पारिएको छ।
पिपलटार फुटबल क्लबको आयोजनामा हुने महोत्सवको व्यवस्थापन जालपा मिडिया सर्भिस र एभरेस्ट इभेन्ट म्यानेजमेन्टले गर्दैछन्। कार्यक्रमको दैनिक इभेन्ट प्रकाशन तथा प्रसारणको जिम्मेवारी नुवाकोट एक्सप्रेस डट कमले सम्हाल्नेछ। महोत्सवका लागि स्टल बुकिङ धमाधम भइरहेको आयोजकले जनाएको छ।



महोत्सव अन्तर्गत विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता पनि आयोजना गरिनेछ। प्रतियोगितामा प्रथम पुरस्कार १५,०००, द्वितीय पुरस्कार १०,०००, र तृतीय पुरस्कार ५,००० तोकिएको छ। आयोजकले लोक नृत्य प्रतियोगिताले दर्शक र सहभागीहरूलाई थप आकर्षित गर्ने विश्वास लिएका छन्।
महोत्सवमा विभिन्न खेलकुद प्रतिस्पर्धा हुनेछन्। फुटसल, एथलेटिक्स, ब्याडमिन्टन, हाप्किडो, उसु, तेक्वान्डो, भलिबल, कराते लगायतका खेल प्रतियोगिताहरू तय भइसकेका छन्। सम्बन्धित खेल संघहरूलाई यसबारे औपचारिक पत्र पठाइसकिएको आयोजकले जनाएको छ।
महोत्सवको पहिलो दिन चर्चित लोकदोहोरी गायक उद्धव कार्की र म्हेन्दोमाया गायक सागर एस वाइवा लगायतले प्रस्तुति दिनेछन्। त्यस्तै, हरेक दिन लोकदोहोरी र म्हेन्दोमाया कलाकारहरूको प्रस्तुति रहनेछ।
महोत्सवको हरेक दिन दर्शकलाई भरपुर मनोरञ्जन दिने उद्देश्यले चर्चित कलाकारहरूको प्रस्तुति राखिएको छ। दोहोरी, हाँस्यव्यंग्य र नृत्यको विशेष कार्यक्रम राखिएको छ। महोत्सवमा दोहोरीका चर्चित गायक लेखनाथ आचार्य र म्हेन्दोमाया गायक मिलन एस वाइबाले आफ्नो प्रस्तुति दिनेछन्। हाँस्यव्यंग्यतर्फ दर्शकलाई हसाउन चर्चित कलाकार सुबोध गौतम यस्तै कमल खत्री, सरोज लामिछाने, स्मृति गौतम, र हाँस्यव्यङ्ग्यका शिवहरी बैरागीको टिमले प्रस्तुति दिनेछन्।
त्यसैगरी, लोकप्रिय नृत्य कलाकार एलिना रायमाझीको विशेष नृत्य प्रस्तुति रहनेछ। महोत्सवमा अहिलेकी चर्चित गायिका शान्तरानी परियार, नवराज काप्री, रचना रिमाल, बिन्दा परियार लगायतका कलाकारहरू आउनेछन्। त्यस्तै, एलिना चौहान, समीक्षा अधिकारी लगायतका चर्चित गायक-गायिकाहरू पनि कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ।
पिपलटार फुटबल क्लबका अध्यक्ष उद्धव पनेरुका अनुसार महोत्सव ७३ रोपनी क्षेत्रफलमा सञ्चालन हुनेछ। मञ्च व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ भने प्रचारप्रसारलाई पनि तीव्र बनाइएको छ।
कार्यक्रम मूल समारोह समितिका संयोजक विदुर नगरपालिका–५ का वडाध्यक्ष लिलानाथ न्यौपाने रहेका छन्। जालपा मिडिया सर्भिसका प्रबन्ध निर्देशक शिव देवकोटाका अनुसार महोत्सवलाई भव्य बनाउन तयारीमा कुनै कमी गरिने छैन ।




