महोत्तरी- महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित स्नेहा होटलबाट अवैध यौनकृयाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले दुई भारतीय नागरिकसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
सोमबार बिहान इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी निरीक्षक राजेश बर्तौलाको नेतृत्वमा खटिएको टोलीले होटलमा छापा मार्दा अवाञ्छित गतिविधिमा संलग्न पाइएका उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भारतको सीतामढी मजफ्फरपुर–१० का २५ वर्षीय राकेश बैठा, मजफ्फरपुर–४ का ३६ वर्षीय जयकरण बैठा, महोत्तरी रामगोपालपुर–८ की एक ३० वर्षीया , सिरहा लहानकी अर्को ३० वर्षीया गरी दुई महिला र होटल सञ्चालक बर्दिबास–३ का ३७ वर्षीय रामबहादुर तामाङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमका अनुसार बर्दिबासका केही होटलहरूमा विगतदेखि लागुऔषध कारोबार, चोरी योजना तथा यौनजन्य अपराधका गतिविधिहरू भइरहेकाले निगरानी बढाइएको थियो ।
‘होटलमा रहेका महिलाहरू अपराधिक गतिविधिमा प्रयोग हुने तथ्यहरू देखिएपछि निगरानी तीव्र पारिएको हो,’ डिएसपी बमले भने, ‘पक्राउ परेका सबैमाथि अनुसन्धान सुरु गरिएको छ ।’
बर्दिबास क्षेत्रका केही होटलहरू अपराधिक गतिविधिको केन्द्र बन्दै गएको गुनासो बढेपछि प्रहरी सक्रिय बनेको हो ।


