काठमाडौँ- शिक्षा समितिको बैठक सुरु भएको छ । बिहान साढे ८ बजे बोलाइएको बैठक अहिले ४ बजेपछि मात्रै सुरु भएको हो । विद्यालय शिक्षा विधेयकका केही विषयमा सहमति जुट्न नसक्दा बैठक बस्न विलम्ब भएको थियो ।
असार १५ को डेटलाइन दिएर सडक संघर्ष रोकिए पनि अन्तिम अवस्थामा सहमति जुटाउन नसक्दा विषय पेचिलो बनेको छ ।



आफूहरूले सरकारलाई दिएको अन्तिम डेटलाइन सम्झाउँदै शिक्षक महासंघका नेताहरू आइतबार बिहानै सिंहदरवार पुगेका थिए ।
हिजै समितिबाट पारित हुने भने पनि केही विषयमा सहमति जुट्न नसक्दा समितिबाट विधेयक पास भएको छैन ।
विधेयक पारित गराउन भन्दै शिक्षक महासंघका नेता कार्यकर्ताहरूले दबाब बढाएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त सत्तारुढ दलका सभापति शेरबहादुर देउवालाई भेट गरेका हुन् ।
समितिको बैठकका लागि बिहान साढे ८ बजेदेखि नै सांसदहरू सिंहदरबार पुगेका थिए ।
विधेयकका केही प्रावधानमाथि शिक्षक महासंघका प्रतिनिधिसँग सहमति जुट्न नसक्दा बैठक अन्योल बनेको हो ।




