काठमाडौं- प्रहरीको खोजीमा रहेका जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवले एकपछि अर्को विवादित अभिव्यक्ति दिइरहेका छन् ।
जसपा नेता यादवले प्रहरीद्वारा आफूमाथि दमन भएको भन्दै राष्ट्रहितविपरीतका अभिव्यक्ति दिन थालेका हुन् । प्रहरीको खोजीको सूचीमा रहेका उनले आइतबार करिब १० मिनेटको भिडियो सार्वजनिक गर्दै आफूलाई नेपालीभन्दा बिहारीका रुपमा प्रस्तुत गरेका छन् ।



उनले पहाडिया नश्लवादीहरूले आफूमाथि दमन गरेको भन्दै त्यसविरुद्ध समग्र बिहारबासी आन्दोलनमा उत्रिनुपर्ने तर्क गरेका छन् । यादवले बिहार र मधेशको रोटीबेटीको सम्बन्ध रहेको तर्क गर्दै भारतीयसँग गुहार मागेका हुन् ।
उनी त्यतिमा मात्रै रोकिँदैनन्, नेपालबाट मधेश एक दिन अलग हुने र हुनुपर्ने आपत्तिजनक अभिव्यक्तिसमेत दिएका छन् ।
हिन्दी भाषामा बोलेका उनले आफूलाई नेपालको प्रहरीले दमन गरेको आरोप लगाएका छन् । त्यहीकारण आफूलाई बिहार सरकारले सहयोग गर्नुपर्ने जिकिर पनि उनले गरेका छन् ।
यादवले नेपालमा मधेसी समुदायमाथि सदियौँदेखि शोषण र भेदभाव हुँदै आएको पनि आरोप लगाए । खस र पहाडिया नश्लवादी सोच बोकेकाले मधेशीलाई दोस्रो दर्जाको नागरिक मान्ने गरेको पनि उने बताए । उनले कुनै बेला ‘मधेश जनविद्रोह’मा आफूले सक्रिय भूमिका खेलेको बताउँदै यादवले भारतले अबको आन्दोलनमा सघाउनुपर्ने पनि जिकिर गरेका छन् ।
यादव नेपाल प्रहरीको खोजी सूचीमा छन् । तर उनले भारतीय र बिहार प्रशासनसँग आफूलाई पक्रन आएमा नेपाल प्रहरीलाई असहयोग गर्न भनेका छन् ।
आफूलाई झूटो आरोपमा फसाउने प्रयास भइरहेको आरोप लगाएका उनले भिडिओ सन्देशमार्फत् सर्लाही प्रहरी प्रमुख एवम् एसपी योगेन्द्रकुमार खड्का र डीएसपीसहितका प्रहरी अधिकृतलाई गम्भीर आरोप लगाएका छन् । सर्लाहीका एसपी र डीएसपीले ‘गुण्डागर्दी’ गरेको बताएका उनले राति कार्यालय खोलेर कमिशन उठाउने गरेको आरोप पनि लगाए ।
जसपाका प्रदेश अध्यक्ष यादवविरुद्ध सर्लाही प्रहरीले सातवटा आपराधिक मुद्दा दर्ता जाहेरी लिएको छ । सर्लाहीका प्रहरी प्रमुख खड्कालाई फोन गरेर उनले धम्की र गाली बर्साएका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीले यादवमाथि एउटा चोरी, पाँचवटा अभद्र व्यवहार र एउटा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा अघि बढेको जानकारी दिएको छ ।
यादवविरुद्ध २०५७ पुस ८ गते अभद्र व्यवहार, २०६६ असोज १० मा चोरी, २०७२ पुस ५ गते सरकारी सम्पत्ति तोडफोड, २०७३ साउन १३ गते कार्यालयभित्र र्मचारीलाई धम्क्याउने काम गरेको आरोपमा जाहेरी परेको छ । त्यसैगरि २०७३ मंसिर २९ गते ड्युटीमा तैनाथ प्रहरीमाथि हातपात गरेको अभियोगमा पनि यादवविरुद्ध जाहेरी परेको छ ।
उनले पछिल्लो पटक यही बिहीबार राति सर्लाहीका प्रहरी प्रमुख एवम् एसपी खड्कालाई ‘लुटेरा’को संज्ञा दिँदै तथानामा गाली गरेका थिए । त्यसपछि उनलाई प्रहरीले खोजिरहेको छ । तर अहिलेसम्म उनी फरार छन् । सम्भवत: उनी अहिले भारतको बिहारमा लुकेर बसेको अनुमान छ ।
यादवले उक्त भिडियोमा यसअघि डा. सीके राउतले मधेश नेपालबाट छुट्टिएर अलग्गै राष्ट्र बन्नुपर्छ भनेर दिएको अभिव्यक्तिको पनि समर्थन गरेका छन् । यादवले आफूसहित मधेशवासीले शासकबाट धेरै अन्याय सहेकाले अब नेपालबाट मधेशलाई अलग बनाउन भारतले पनि सहयोग गर्नुपर्ने कुरा हिन्दीमा बताइरहेको सुन्न सकिन्छ । यसअघि नै सातवटा मुद्दा खेपिरहेका यादवको यो अभिव्यक्तिले उनीमाथि थप मुद्दा अघि बढ्न सक्ने कानुन व्यवसायीहरूको तर्क छ ।




