महोत्तरी — नेपाल विद्युत प्राधिकरणको ढल्केवर ग्रीड महाशाखाबाट प्रसारणमा रहेको पश्चिमी फिडर लाइनमा आईसोलेटर जडान गर्नुपर्ने भएकाले आगामी पाँच दिन दैनिक चार घण्टा लोडसेडिङ हुने भएको छ।
महाशाखाले आइतवार सूचना जारी गर्दै सोमबार (साउन १२ गते) देखि साउन १७ गतेसम्म हरेक दिन बिहान ५ बजेदेखि ९ बजेसम्म विद्युत आपूर्तिमा कटौती गरिने जनाएको छ।



यस कार्यका लागि १३२ के.भी.को ढल्केवर–चन्द्रनिगाहपुर प्रसारण लाइनमा मर्मत तथा जडान कार्य गरिनेछ। यस कारणले रौतहट जिल्लाको चन्द्रनिगाहपुर, मौलापुर वितरण केन्द्र तथा गौर वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा लोडसेडिङ हुनेछ।
प्राधिकरणका अनुसार सो कार्य सम्पन्न गर्न ३३ के.भी. बस तथा फिडरलाई सटडाउन गर्नुपर्ने भएकाले प्रभावित क्षेत्रमा विद्युत आपूर्तिमा अस्थायी अवरोध हुने बताइएको छ।
साउन १७ गतेपछि नियमित रुपमा लाइन सञ्चालनमा आउने र विद्युत सेवा यथावत् हुने प्राधिकरणले जनाएको छ। सेवा अवरुद्ध हुँदा पर्न जाने असुविधाप्रति महाशाखाले उपभोक्ताहरूसँग क्षमायाचना समेत गरेको छ।





