जनकपुरधाम – बिरगंज कारागारमा एक कैदीको मृत्यु भएको घटना छानबिन गर्नका लागि जिल्ला प्रशासन कार्यालय पर्साले पाँच सदस्यीय समिति गठन गरेको छ । कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका वीरगञ्ज महानगरपालिका २५ का २८ वर्षीय राहुल साहको मृत्यु भएको थियो ।
प्रहरी र स्थानीय प्रशासनको लापरबाहीका कारण राहुलको मृत्यु भएको भन्दै मृतकका आफन्तले प्रदर्शन गरेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा डीएसपी किशोर लम्साल, वडा नम्बर २५ का वडा सदस्य जगदीश साहसमेत रहेको छानबिन समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
जिल्ला प्रशासनले आफन्तसँग छलफल गरी निष्पक्ष छानबिनको सहमति गरेपछि साहको उपचार गरिएको नारायणी अस्पतालको अवस्था सामान्य बनेको प्रशासन कार्यालयले जनाएको छ । मृतक साह कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई ५ वर्षदेखि सजाय काट्दै आएका थिए ।


