जनकपुर। प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत भएको साइकल खरिदमा भ्रष्टाचार देखिएको अख्तियारले जनाएको छ। प्रारम्भिक चरणको अनुसन्धानमा भ्रष्टाचार भएको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख कृष्णप्रसाद सापकोटाले पुष्टि गरे।
‘‘साइकल खरिद प्रकरणको प्रारम्भिक अनुसन्धानमा भ्रष्टाचार देखिएको छ। दोस्रो चरणको अनुसन्धान सुरु भएको छ। त्यसमा पनि भ्रष्टाचार देखियो भने त्यसमा संलग्न पदाधिकारी उपर भ्रष्टाचार विरुद्ध मुद्दा दायर हुन्छ’’ जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने। असोज १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेर साइकल खरिद सम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो।



जसको प्रदेश २ सरकारले चर्को आलोचना गरेको थियो। प्रमुख सत्तारुढ जनता समाजवादी पार्टीले मुख्यमन्त्रीको बचाउमा अख्तियार विरुद्ध आन्दोलन नै गरेको थियो। प्रदेश २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि गत चैतमा मात्रै १७ हजार २६२ साइकल खरिद गरेको थियो। वीरगन्जको ओम सत्य साई प्रालिमार्फत खरिद गरिएका थिए। ती साइकलमा कम्पनीको नाम, मोडल र ब्रान्ड उल्लेख छैन । जब कि सार्वजनिक खरिद ऐनअनुसार ठेकेदार कम्पनीले उत्पादक कम्पनीको नाम, मोडल र ब्रान्ड सबै खुलाउनुपर्छ । कानुन विपरीत खरिद भएको र भ्रष्ट्राचार भएको हुनसक्ने भन्दै अख्तियारले छापा मारेको हो।
प्रतिसाइकल भ्याटसहित ६ हजार चार सय ३२ रुपैयाँका दरले वीरगन्जको ओम सत्य साई प्रालिले आपूर्ति गरेको हो । तर काठमाडौंका साइनो इन्टरनेसनल र म्याप हेलेक्सीसमेतले आवेदन दिएकोमा कम रकम कबोल गरेको आधारमा ओम सत्यसाईले ठेक्का पाएको बताइएको थियो।




