जनकपुर – जनकपुरधाम उपमहानगरपालिका–८ स्थित वडा कार्यालय पछाडि रहेको एस राज कबाड पसलमा एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेको छ। धनुषा जिल्ला प्रहरी कार्यालयले मृतकको पहिचान अहिलेसम्म खुल्न नसकेको जनाएको छ र सनाखतमा सहयोगका लागि सर्वसाधारणलाई अनुरोध गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार, शुक्रबार साँझ करिब सवा ६ बजे सो स्थानमा करिब ४० वर्षीय पुरुष अचेत अवस्थामा फेला परेका थिए। ‘स्थानीयको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। उनलाई तत्काल प्रादेशिक अस्पताल जनकपुर पठाइयो, तर चिकित्सकले मृत घोषणा गरे,’ डीएसपी सिंहले बताए। उनका अनुसार, मृतकको शव आवश्यक प्रक्रिया पूरा गरी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।



‘हालसम्म सनाखत हुन सकेको छैन। मृतकको तस्बिर र विवरण प्रचार–प्रसार गरिएको छ। मृतकलाई चिनेका कोही आफन्त भएमा नजिकैको प्रहरी कार्यालय वा प्रादेशिक अस्पतालमा सम्पर्क गर्न अनुरोध गर्दछौं,’ उनले थपे।




