मंजित कुमार राम,गाैशाला – महोत्तरी सदरमुकाम जलेश्वरमा शनिबार संघीय गणतान्त्रिक गठबन्धनको आयोजनामा संयुक्त जनजागरण अभियान सम्पन्न भएको छ।“सम्पूर्ण शोषित, उत्पीडित र बहिष्कृत वर्ग तथा समुदाय एकजुट होऊँ” भन्ने नारासहित जिल्ला समन्वय समितिको हलबाट सुरु भएको कार्यक्रम महेन्द्र चौक परिक्रमा गरी पुनः समितिको हलमै समापन गरिएको हो।

कार्यक्रममा नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष रिजवान अंसारी, नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतो, बहुजन एकता पार्टी नेपालका वरिष्ठ नेता राजाराम पासवान, नेपाल जनजागृति पार्टीका केन्द्रीय अध्यक्ष ध्रुवलाल निसादलगायत सयौं नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो।




सो अवसरमा पूर्वगृह, सञ्चार तथा कानुन मन्त्री विमला अंसारीले दलित, मुस्लिम र निसाद समाज राजनीतिक रूपमा एकजुट नभएसम्म पहिचानसहितको अधिकार प्राप्त नहुने बताइन्।त्यसैगरी सहभागी नेताहरूले संख्यात्मक रूपमा ठूलो भए पनि दलित, मुस्लिम र निसाद समुदायको देशका कुनै पनि निकायमा पर्याप्त पहुँच नदेखिएको उल्लेख गरेका थिए।






