जनकपुरधाम – मधेशका तीनवटा कारागारबाट ९८३ कैदी फरार भएका छन् । सप्तरीको राजविराज, महोत्तरीको जलेश्वर र रौतहटको गौर कारागारबाट उनीहरु आन्दोलन, आगजनी र तोडफोड गरी भागेका हुन् । मधेशमा धनुषा र बारा बाहेक ६ वटा जिल्लामा कारागार छन् ।
सप्तरीको राजविराज स्थित सप्तरी कारागारबाट २०५ कैदी बन्दी भागेका छन् । जस मध्ये ३१ जनालाई नियन्त्रणमा लिन सफल भएको सप्तरीका प्रमुख जिल्ला अधिकार टुवराज पोखरेलले बताए ।



दिउँसो १ बजेतिर थुनुवाहरुले भाग्नका लागि भित्र कारागारमा आगजनी गरेका थिए । प्रहरीहरु आगलानी निभाउन थालेपछि कैदी बन्दीहरु फरार भएका हुन् । त्यस क्रममा २५ जना र ६ जना गरी ३१ जनालाई नियन्त्रणमा लिन सफल भएको डिडिओ पोखरेलको भनाइ छ ।
उनीहरु भारततिर भागेको हुन सक्ने पनि आशंका गरिएको छ । ‘इण्डियाको नाकातिर भागेको हुन सक्छ । ३१ जनलाई पक्राउ गरि ल्याइएको छ । बाँकीको पनि खोजि गरिरहेका छौं’ सिडिओ पोखरेलले भने ।
जेनजीको आन्दोलनको क्रममा ललितपुरको नख्खु कारागारबाट रास्वपा सभापति रविलामिछानेको रिहाइसँगै सबै कैदी भागेको थिए । त्यही नजिर राख्दै देशका अन्य जेलहरुबाट समेत कैदी बन्दी भित्रै आन्दोलन चर्काएर भागिरेका छन् ।
महोत्तरीको जलेश्वर कारागारबाट मंगलबार साँझ सबै ५७६ कैदी भागेका थिए । मधेशक आन्दोलनका क्रममा भएका सशस्त्र प्रहरीका सई थमन विक हत्या प्रकरणको अभियोगमा रहेका ६ केदीलाई आन्दोलनकारी रिहाइ गराउन गएको बेला उनीहरु आन्दोलन गरेर भागेका थिए । कैदीहरुलाई २४ घण्टाभित्र कारागार आउन कारागर प्रशासनले अपिल गरेको छ । नभए कानुन बमोजिम पक्राउ गरेर ल्याउने जनाएको छ ।
यस्तै गौर कारागारबाट २३३ कैदी फरार भएका छन् । २९१ कैदी रहेको जेलमा तोडफोड गरी २४ जना बाहेक सबै भागेका छन् ।
यस्तै सर्लाहको मलंगवा कारागारमा आज बिहान आगजनी आन्दोलन गरेर कैदी भाग्न खोजेपनि तीनवटै सुरक्षा निकायले रोक्न सफल भएका छन् । आगजानी नियन्त्रणमा लिएका थिए । सो जेलमा विवादित धर्मगुरु रामबहादुर बम्जन छन् । उनका समर्थकहरु उनलाई त्यहाँ आक्रमण गरेर छुटाउन पुगेका थिए । यधपी सुरक्षाकर्मीले धपाएका थिए भने आगजनी निभाएका थिए । त्यस क्रममा कयौं राउण्ड हवाय फायर र अश्रुग्यास सुरक्षाकर्मीले प्रहार गरेका थिए ।
वीरगञ्जको कारागारबाट भाग्न खोजेपछि रातिदेखि नै वीरगञ्ज कारागारमा तनाव थियो । सुरक्षाकर्मीको सक्रियताले रोक्न सफल भएको र अहिले अवस्था समान्य रहेको पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताए ।
सिरहा कारागार भने अहिलेसम्म शान्त छ । मधेशमा रहेका कारागार सदरमुकाम र सीमाको नजिकमा रहेकाले बहु संख्यक कैदी खुल्ला सीमा हुँदै भारत भागेको हुन सक्ने आशंका गरिएको छ ।
कैदीहरु जेलबाट भागेपछि समाजमा असुरक्षा र भयत्रास सृजना भएको छ । फरार कैदीहरुको खोजी कार्य भइरहेको प्रशासनले जनाएको छ ।




