महोत्तरी – महोत्तरीको जलेश्वरस्थित ट्राफिक प्रहरी चौकीमा अज्ञात समूहद्वारा आगजनी गरिएको छ।
जलेश्वर बसपार्क नजिकै रहेको ट्राफिक प्रहरी कार्यालयमा बिहीबार दिउँसो करिब १ः३० बजे पेट्रोल छर्की आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) हेरम्ब शर्माले जानकारी दिनुभयो।



आगजनीबाट कार्यालयमा रहेको एक थान कम्प्युटर, कुर्सी र टेबल जलेर नष्ट भएको उहाँले बताउनुभयो। घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिन सफल भएको र थप क्षति हुनबाट जोगाइएको एसपी शर्माले बताउनुभयो।
उक्त घटनामा संलग्न समूहको खोजी तीव्र पारिएको र सिसीटिभी फुटेजलगायत विभिन्न कोणबाट अनुसन्धान भइरहेको समेत उहाँले जानकारी दिनुभयो।





