बर्दिवास । शारजाहको रङ्गीन रात, स्टेडियममा चम्किरहेका बत्तीहरू र दर्शकहरूको हर्षोल्लासले भरिएको वातावरण । झण्डा फहराउँदै, नारा र तालले नेपाली टोलीलाई हौसला दिइरहेका दर्शकहरूको उत्साहले मैदान तातिएको थियो ।
सेप्टेम्बर २७, २०२५ को साँझ केवल एक टी–२० खेलको नतिजा मात्र थिएन, यो नेपाली क्रिकेटको इतिहासमा सुनौलो अक्षरले लेखिएको क्षण थियो ।
वेस्ट इन्डिजविरुद्ध ३ खेलको युनिटी कप सिरिजको पहिलो टी–२० मा नेपालले १४९ रनको लक्ष्य पछ्याउन लगाएर पाँच नयाँ अनुहारसहितको वेस्ट इन्डिज टोलीमाथि ऐतिहासिक जित हासिल गर्यो । नेपालले हालसम्म खेलेका १८० अन्तर्राष्ट्रिय खेलमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्ण सदस्यमाथि यो पहिलो जित हो । नेपालले हालसम्म १०३ टी-२० अन्तर्राष्ट्रिय र ७७ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको छ ।
शारजहामा कमेन्ट्री गरिरहेका वेस्ट इन्डिज दिग्गज इयान बिसबले जितको क्षणबारे भने, ‘यो ऐतिहासिक जित, नेपालको गौरवपूर्ण प्रदर्शन ।’
आईसीसीको पूर्ण सदस्यलाई पहिलोपटक हराउने क्रममा नेपालले दुईपटकको विश्वविजेता वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हात पारेको हो ।
वेस्ट इन्डिजले टस जितेर पहिले फिल्डिङ रोज्यो । पहिलो ओभरमै केही झट्का लागे पनि कप्तान रोहितकुमार पौडेलले आफ्नो नेतृत्व र ब्याटिङ कौशलको उत्कृष्ट प्रदर्शन गरे । उनले संयमित ३८ रन बनाए, जसले टोलीको आधार बलियो बनायो ।
कुशल मल्लले २१ बलमा ३० रनको पारी खेल्दा २ छक्का र २ चौकाको प्रहार गरे । वेस्ट इन्डिजका अनुभवी बलर जेसन होल्डरले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए, तर नेपाली ब्याट्सम्यानहरूले संयम र रणनीतिक साझेदारी कायम राख्दै २० ओभरमा १४८ रन बनाए ।
यो स्कोर वेस्ट इन्डिजका लागि चुनौतीपूर्ण साबित भयो । १४९ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको वेस्ट इन्डिजको टोलीमा पाँच नयाँ अनुहार थिए । अन्तर्राष्ट्रिय अनुभवको कमी र दबाबमा कमजोरी स्पष्ट थियो ।
नेपालका बलरहरूले सुरुदेखि नै कसिलो बलिङ गरे । कुशल भुर्तेलले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए, जसले वेस्ट इन्डिजको मध्यक्रमलाई ध्वस्त पार्यो ।
ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले पनि किफायती बलिङ गर्दै वेस्ट इन्डिजलाई दबाबमा राखे । मध्यक्रममा केही प्रयास भए पनि साझेदारी बन्न नसक्दा वेस्ट इन्डिज २० ओभरमा ९ विकेट गुमाएर १२९ रनमा समेटियो ।
नेपालका स्टार स्पिनर सन्दीप लामिछानेको अनुपस्थिति टोलीका लागि ठूलो चुनौती थियो । तर, बाँकी बलरहरूले अनुशासित भएर गरेको बलिङले यो कमी पूरा गरे ।
कप्तान पौडेलले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेयर अफ द म्याच’को उपाधि जिते । सन्दीपले क्यारेबियन प्रिमियर लिगमा यिनै खेलाडीहरूसँग खेलेर चर्चा कमाएका थिए र उनको अनुपस्थितिमा पनि टोलीले आफ्नो क्षमता प्रमाणित गर्यो ।
वेस्ट इन्डिजको यो हार अप्रत्यासित भने थिएन । यसै पनि यो टोलीमा अनुभवी खेलाडी छैनन् – सबै होइनन् (३–४ जना बाहेक) यो जित नेपालका लागि केवल स्कोरको कुरा थिएन । यो टिम भावना, अनुशासन र रणनीतिको विजय हो । स्टेडियममा दर्शकहरूको नाँच–गान र सामाजिक सञ्जालमा फैलिएको उत्साहले नेपाली क्रिकेटको उज्ज्वल भविष्यको संकेत गरेको छ ।
शारजाहको यो रात नेपाली क्रिकेटको इतिहासमा सधैँ स्मरणीय रहनेछ । यो जितले खेलाडीहरूमा आत्मविश्वास बढाएको छ र विश्व क्रिकेटमा नेपाललाई चुनौती दिने टोलीको रूपमा स्थापित गरेको छ ।
आगामी खेलहरूमा यो आत्मविश्वास र रणनीतिलाई कायम राख्न सकियो भने नेपालले विश्व क्रिकेटमा थप उचाइ हासिल गर्नेछ । यो केवल एक खेलको जित होइन, नेपाली क्रिकेटको सुनौलो भविष्यको आधारशिला हो ।
वेस्ट इन्डिजको पछिल्ला १० खेलको नतिजा पछिल्ला १० टी–२० खेलहरूमा उनीहरूको प्रदर्शन कमजोर रह्यो । जुन २०२५ मा इङ्ग्ल्याण्डविरुद्ध ३–० को हार, अस्ट्रेलियाविरुद्ध लगातार तीन हार र पाकिस्तानविरुद्ध २–१ को हारले टोलीमा संयोजन र दबाब व्यवस्थापनको कमी स्पष्ट देखिन्छ । नयाँ खेलाडीहरूको अनुभवको अभाव र मध्यक्रमको कमजोरीले नेपालविरुद्धको खेलमा पनि उनीहरूलाई महँगो पर्यो ।
नेपालको ब्याटिङ
ओपनर कुशल भुर्तेलले ११ बलमा ६ रन बनाएर कप्तान अकिल हुसेनको बलमा आउट भए, भने आसिफ शेखले ४ बलमा ३ रन जोडेर जेसन होल्डरको बलमा आउट भए । कप्तान पौडेलले ३५ बलमा ३८ रनको योगदान दिए, नवीन बिडाइसीको बलमा आउट भए ।
कुशल मल्लले २१ बलमा ३० रन बनाएर बिडाइसीकै बलमा आउट भए । गुल्सन झाले १६ बलमा २२ रन जोडेर पनि बिडाइसीबाट आउट भए । दिपेन्द्रसिंह ऐरी १९ बलमा १७ रन बनाएर होल्डरको बलमा आउट भए ।
सन्दीप जोरा ६ बलमा ९ रन जोडेर होल्डरको बलमा आउट भए । करण केसी गोल्डेन डक आउट भए । उनी पनि होल्डरबाट आउट भए । सोमपाल कामी ५ बलमा ६ रन र नन्दन यादव २ बलमा ७ रन बनाएर नटआउट रहे । एक्स्ट्रामा १० रन नेपालले पायो ।
वेस्ट इन्डिजको ब्याटिङ
काइल मेयर्स ५ रनमा रन आउट भए । अमिर जाङ्गू १९ रनमा आउट भए । अकिम अगस्ट १५ रनमा आउट भए । केएसी कार्टी १६ रनमा रन आउट भए । नवीन बिडाइसी २२ रनमा आउट भए । फेबियन एलन १९ रनमा र कप्तान अकिल होसेन १८ आउट भए । ओबेड म्याककोय ३ बल खेलेर नट आउट रहे ।
नेपालको बलिङ
कुशल भुर्तेलले जोसन होल्डर र नवीन बिडाइसीको विकेट लिए । दीपेन्द्रले एलेन, करणले होसेन, नन्दनले अकिम अगस्ट, ललितले अमिर जाङ्गू, रोहितले जेवेल आन्ड्रियूको विकेट लिए ।
दीपेन्द्रसिंह ऐरीले पहिलो ओभर बलिङ गरे– ५ रन दिए । त्यसपछि दोस्रो ओभरमा बलिङ गरेका करणले विकेट लिए र ३ रन दिए ।
तेस्रो ओभर पनि दीपेन्द्रले गरे, ७ रन दिए । चौथो ओभरमा करण अलि महँगो सावित भए– जहाँ उनले १२ रन दिए । पाँचौँ ओभरमा बलिङ गर्न आए नन्दन यादवले १ विकेट लिएर ५ रन दिए ।
छैटौँमा मात्र आएका थिए सोमपाल कामी, जसमा उनले १ वाइडसहित ७ रन खर्चिए । सातौँ ओभर ललितलाई दिइयो– उनले ५ रन दिए । आठौँ ओभरमा कप्तान आफैँ आए, ७ रन दिएर १ विकेट लिए ।
नवौँ ओभर ललितको एकदमै राम्रो रह्यो । उनले त्यस ओभरमा १ रन मात्र दिएर १ विकेट लिए । यो ओभरको सुरुका २ बल डट, तेस्रोमा बलमा एक रन, चौथोमा डट, पाँचौमा विकेट, छैटौँ बलमा पनि डट ।
दसौँ ओभरमा रोहित आफैँ आए । त्यो ओभरमा विकेट लिएनन्, तर रन ३ मात्र दिए । ११ औँ ओभरमा कुशल भुर्तेल आए, उनले त्यस ओभरमा विकेट लिएनन् तर रन पनि २ मात्र दिए ।
१२ औँ ओभरमा फेरि आए कप्तान पौडेल, एक छक्का खाए । उनलाई कार्टीले छक्का हाने । त्यो ओभरमा वेस्ट इन्डिजले १० रन बटुल्यो।
१३ औँ ओभरमा भुर्तेलले बलिङ गरे, कार्टी दीपेन्द्रको थ्रोमा आशिफ शेखबाट रन आउट भए । १४ औँ ओभरमा सोमपालले ५ रन दिए ।
१५ औँ ओभरमा भुर्तेलले फेरि जोसन होल्डरको विकेट लिँदै ३ रन दिए । १६ औँ ओभरमा सोमपालले १२ रन दिए ।
१७ औँ ओभरमा १ वाइडसहित १ विकेट र ९ दिए, भुर्तेलले । १८ औँ ओभर एकदमै महँगो सावित भयो । बलर सोमपाल थिए । उनले त्यो ओभरमा सुरूमै नो बल फ्याँके, जसमा ३ रन आयो । बाँकी २ चौका १ छक्कासहित त्यस ओभरमा १९ रन आयो ।
१९ औँ ओभरमा करण आए, २ रन दिएर होसेनलाई आउट पारे । २० औँ तथा अन्तिम ओभरमा २ वटा चौका खाए पनि दीपेन्द्रसिंह ऐरीले एलेन विकेट लिए ।
यो जितपछि कप्तान पौडेलले विशेष गरी लामो समयको पर्खाइपछि टेस्ट खेल्ने देशलाई हराउन पाउँदा निकै सुखद् अनुभव भएको बताए । उनले भने, ‘यो ऐतिहासिक शृङ्खलामा अन्ततः हामीले यूएईमा आयोजना गरेका थियौं । मलाई लाग्छ स्कोर राम्रो थियो, र पिच पनि राम्रो थियो ।’
उनले यो पिचमा १५०–१६० को स्कोर सामान्य भएको उल्लेख गर्दै त्यो स्कोर बनाएर कडा चुनौती दिने लक्ष्यमा रहेको बताए । उनले भने, ‘हाम्रो भावना एकदमै उत्कृष्ट थियो, हामी विकेटहरूबीचमा सानदार थियौं, र हाम्रा स्पिनरहरू असाधारण थिए । कुशल भुर्तेलले आज धेरै राम्रो बलिङ गरे ।’
खेलमा म्यान अफ द म्याच बनेका उनले त्यो अवार्ड नेपालमा भएको जेन जी आन्दोलनका शहीदप्रति समर्पण गरे । उनले भने, ‘पछिल्लो एक महिना हाम्रो लागि राम्रो भएको छैन, त्यसैले यदि हामीले नेपालका जनतालाई थोरै भए पनि खुसी दिन सक्यौं भने, मलाई लाग्छ त्यो धेरै राम्रो हुनेछ ।’
उनले यो जितबाट लय नगुमाई फेरि पनि जित्ने गरी मैदानमा उत्रिने बताए । उनले भने, ‘हामीले आज जसरी खेल्यौं, मलाई लाग्छ यसले हामीलाई जित्ने उच्च सम्भावना प्रदान गरेको छ, तर हामी जमिनमा रहनेछौं र हाम्रो प्रक्रियालाई सही तरिकाले पछ्याउनेछौं ।’




