रौतहट- रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा स्कूल बसको ठक्कर लागेर दुई वर्षीय बालकको मृत्यु भएको छ ।
शुक्रबार बिहान करिब सवा ८ बजे ओम एकेडेमी स्कुलको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो ।



मृत्यु हुनेमा सोही नगरपालिका–१ जयनगरका रंजन साहका दुई वर्षीय छोरा आदित्यकुमार साह रहेका छन् । जयनगरबाट मानपुरतर्फ जाँदै गरेको प्रदेश–३–००१ ख १७२६ नम्बरको बसले बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मृतक बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ ।
ठक्कर दिने बस इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा भए पनि चालक भने फरार रहेको र उहाँको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।




