अर्जुन साह,धनुषा — लुथरन वर्ल्ड फेडरेसन नेपाल (LWF) को आर्थिक सहयोगमा ऋषिवंश एकता समाज नेपाल तथा लुथरन सामुदायिक कल्याण समाजद्वारा सञ्चालित मुसहर समुदाय सशक्तीकरण कार्यक्रमको मंगलबार संयुक्त अनुगमन गरिएको छ। अनुगमन टोलीमा संस्थाका प्रतिनिधि, पत्रकार तथा स्थानीय अगुवा व्यक्तिहरू सहभागी थिए।

संयुक्त टोलीले क्षिरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका र हंसपुर नगरपालिकाका कार्यक्रम स्थलहरूमा पुगेर समुदायमा आएको परिवर्तन, प्रभावकारिता तथा कार्यक्रमको अवस्थाबारे अवलोकन गरेको हो। अनुगमनका क्रममा टोलीले महिला उद्यमी समूह, मानवअधिकार रक्षक समूह, अपाङ्गता सञ्चालक नेटवर्क तथा समुदायका अग्रणी व्यक्तिहरूसँग भेटघाट गरी समसामयिक अवस्था बारे जानकारी लिएको थियो।



लुथरनका कार्यक्रम अधिकृत सुजित सोरेनले मुसहर समुदायलाई मूलधारमा ल्याउन क्षमता अभिवृद्धि, सशक्तीकरण, शिक्षा, स्वास्थ्य, न्यायमा पहुँच वृद्धि तथा पैरवीलगायतका क्षेत्रमा निरन्तर काम भइरहेको बताए। “आर्थिक रूपमा कमजोर मुसहर महिलालाई उद्यम विकासका लागि आवश्यक सहयोग गर्दै आएको छौँ,” उनले भने।

परियोजनाबाट लाभान्वित प्रमिला तिमिल्सिनाले महिलाहरू अधिकार प्राप्तिमा अझै पूर्ण रूपले सक्षम नबने पनि समूह र नेटवर्कमार्फत समस्या पहिचान र समाधानका प्रयास बढ्दै गइरहेको बताइन्।
समुदायका अगुवा जयप्रकाश सदाले बालविवाह, नागरिकता तथा जन्मदर्ता अभाव, भूमिहीनता, हिंसा तथा जातीय विभेदजस्ता समस्या अझै कायम रहेको उल्लेख गर्दै शिक्षामा पहुँच सुनिश्चित गर्न तथा सचेतना अभिवृद्धिका कार्यक्रम निरन्तर भइरहेको जानकारी दिए।
अनुगमनको निष्कर्षमा कार्यक्रमले मुसहर समुदायमा उल्लेखनीय सकारात्मक परिवर्तन ल्याएको, महिलामा उद्यमशीलता वृद्धि भएको, शिक्षा तथा न्यायमा पहुँच विस्तार हुँदै गएको तथा पारदर्शिता र समुदायको सहभागिता सन्तोषजनक रहेको उल्लेख गरिएको छ।




