महोत्तरी । संविधानले नै सुनिश्चितता गरेका अधिकारहरु हनन भएको भन्दै महोत्तरीका जेष्ठ नागरिकहरुले जागरणको सुरुवात गरेका छन् ।
जेष्ठ नागरिकसम्बन्धी ऐन २०६३ को दफा–९ मा भएको व्यवस्था अनुसार छुट र सुविधाको विषयमा उनीहरुले सचेतना अभियानको पारम्भ गरेका हुन् । जिल्लाको बर्दिवासस्थित पूर्व–पश्मि राजमार्गअन्तर्गत सार्वजनिक स्थलमा वृद्धहरुले पहिलो चरणमा होडिङ बोर्डमा राखेका छन् ।
‘ऐन, कानुनले दिएको अधिकारहरु हनन भएको छ त्यसको भुक्तभोगी हामी स्वयम बनिरहेका छौँ, कतिपयलाई थाहा नभएर पनि यस्तो भएको हुन् सक्छ भनेर पहिलो चरणमा बोर्ड राखिएको हो’, बर्दिवास–३ का यमबहादुर बुढाथोकीले भने, ‘यदि अझै सुनुवाई भएन भने अनसन नै बस्नेछौँ ।’
सवैभन्दा बढी सवारीसाधनमा अधिकारको उल्लंघन भएको उनीहरुको गुनासो छ । जेष्ठ नागरिकसम्बन्धी ऐन २०६३ दफा–९ को उपदफा–२ मा नेपाल सरकारले सार्वजनिक सूचना प्रकाशन गरि तोकेको किसिमको सार्वजनिक सवारीसाधनमा सम्बन्धित सवारी धनी वा सञ्चालकले जेष्ठ नागरिकको लागि कम्तिमा दुईवटा सिट सुरक्षित राख्नुपर्ने छ र निजलाई यात्रु भाडादरमा ५० प्रतिशत छुट दिनुपर्ने भनि व्यवस्था गरिएको छ ।
तर धेरैजसो सार्वजनिक सवारीसाधनहरुमा उक्त नियम पालना नभएको र बरु वृद्वहरुलाई तिरस्कार गर्ने गरेको उनीहरुको भनाई छ । उक्त ऐनको नै उपदफा–१ मा सार्वजनिक सवारीसाधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिक स्थलमा जेष्ठ नागरिकलाई आवश्यक सेवा, सुविधा र सहयोग प्रदान गर्नु–गराउनु सबैको कर्तव्य हुनु पर्ने व्यवस्था गरिएको छ ।
घर परिवार, समाज र सार्वजनिक ठाँउहरुमा जेष्ठ नागरिकहरु प्रताडित बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै ७८ वर्षीय कृष्ण देवकोटाले महोत्तरीबाट सुरु भएको यो अभियान देशव्यापी बनाउनुपर्ने बताए ।



