सुजाता राई
विराटनगर / नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम ऋषि मोहन पार्कमा शनिबार सम्पन्न भएको छ।




प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा विराटनगरका १९ वटै वडासहित ४, ५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगर अध्यक्ष बलराम गिरीले आन्तरिक प्रतिस्पर्धाका तिक्तता भुलेर एकढिक्का भएर एमाले जिताउने संकल्प गर्न आग्रह गरे। केन्द्रीय सदस्य जीवन घिमिरेले एमालेमाथि भइरहेको चौतर्फी आक्रमण लोकतन्त्र र संविधानको रक्षामा पार्टीको अडानका कारण भएको बताउँदै सामाजिक सञ्जालका भ्रमबाट सचेत रहन अनुरोध गरे।

महानगर इन्चार्ज पर्शुराम बस्नेतले अब एमालेमा कुनै मतभेद नरहेको स्पष्ट पार्दै आगामी निर्वाचनमा जिल्लाका सबै क्षेत्रमा विजय हासिल गर्ने दाबी गरे। सह–सचिव सन्तोष वान्तवाले यो वनभोजले एमाले परिवारलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताए।
दुई हजारभन्दा बढी नेता–कार्यकर्ता सहभागी कार्यक्रममा ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई सम्मान गरिनुका साथै खेलकुद, नाचगान र सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो। कार्यक्रम सञ्चालन सचिव विज्ञान शर्माले गरेका थिए।




