काठमाडौँ– कांग्रेस सभापति गगन थापा (४९) ले २०४८ सालमा एसएलसी दिँदा कांग्रेसकै फरमुल्लाह मन्सुर (७१), रमेश रिजाल (६९), विजय गच्छेदार (७२) र अर्जुन नरसिंह केसी (७८) त्यही साल भएको आमनिर्वाचनमा उम्मेदवार थिए। उक्त निर्वाचनबाट रिजाल, गच्छेदार र केसी निर्वाचित भए भने मन्सुर पराजित भए।
२०५१ को मध्यावधि निर्वाचनमा धनुषाबाट महेन्द्रनारायण निधिले आफू नउठी विमलेन्द्र निधि (६९) लाई अघि सारे। २०५६ मा पर्वतबाट अर्जुन जोशी (६९) पनि उम्मेदवार बने। निधि र जोशी दुवैले फराकिलो अन्तरले जित हात पारे।



प्रजातन्त्र पुनर्स्थापनापछि भएको पहिलो निर्वाचनको ३४ वर्षपछि संविधानसभा समेत गरी आठौँ निर्वाचन हुँदैछ र माथि उल्लेखित सबै पुनः उम्मेदवार छन्। केसी समानुपातिक उम्मेदवार बन्दा अन्यले प्रत्यक्षका लागि टिकट पाएका छन्।
मन्सुर बारा–३, गच्छेदार सुनसरी–३, रिजाल पर्सा–४, निधि धनुषा–३ र जोशी पर्वतबाट उम्मेदवार छन्। तर यसपटक कांग्रेस सभापति उनीहरूभन्दा अघिल्लो पुस्ताको वा समकक्षी छैनन्। बरु, उमेरमा करिब दुई दशकको ‘ग्याप’ छ।
गगन थापा २०५१ सालमा बल्ल त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्य निर्वाचित भएका थिए। उनी २०५५ सालमा त्रिचन्द्रकै स्ववियु सभापति भए। त्यस बेला उनी नेविसंघमा आबद्ध थिए।
उनी २०५७ सालमा नेविसंघ उपसभापति थिए, जुन बेला विश्वप्रकाश शर्मा नेविसंघ सभापति बनेका थिए। २०५९ सालमा भने उनी नेविसंघ महामन्त्री बने, गुरुराज घिमिरे सभापति थिए। उनी २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकबाट सभाषद् बनेका थिए। २०६७ सालको १२औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्य भएका थिए।
विद्यार्थी राजनीतिबाट फड्को मारेर थापा पार्टी राजनीतिको उच्च पदमा पुग्दा पनि आमनिर्वाचनमा कतिपय पुरानै नेताले अवसर पाएका छन्। २०४८ सालदेखि लगातार उम्मेदवार भइरहेका रिजाल आफू उम्मेदवार हुन नचाहेको बताए पनि शुभचिन्तकहरूको दबाबका कारण टिकट लिएको बताउँछन्। पार्टी कार्यकर्ताहरूले आफ्नो विकल्प कोही नभएको भनेपछि पछाडि हट्न सक्ने अवस्था नभएको उनको दाबी छ।
“काम त मैले गरेकै छु नि। यसपटक पनि मेरोतर्फबाट यो अन्तिम हो, तर साथीभाइको आग्रह आयो भने सोच्नुपर्ला,” रिजाल भन्छन्, “तर सकेसम्म अर्कोपटक नयाँ कसैलाई नै समर्थन गर्ने प्रयास गर्छु।”
बाराबाट उम्मेदवार रहेका मन्सुर आफू अझै सक्रिय राजनीतिबाट बिदा नभएका कारण उम्मेदवारीका लागि आफू नै सान्दर्भिक भएको बताउँछन्। लोकतन्त्रको सुदृढीकरण र देशको वर्तमान अवस्थालाई नजरअन्दाज गर्नसक्ने स्थिति नहुँदा जिम्मेवारीबाट भागेको आरोप नलागोस् भनेर उम्मेदवार बनेको उनको भनाइ छ।
“म त हजारौँ कार्यकर्ता उत्पादन गरेको नेता हुँ। अर्कोपटक उनीहरू मेरो ठाउँमा आइहाल्छन् नि,” मन्सुर भन्छन्, “फेरि म नै उम्मेदवार हुने परिस्थिति आउन नदिनको लागि पनि यसपटक उम्मेदवार हुनुपर्यो।”
सुनसरीबाट उम्मेदवार भएका गच्छेदार पनि देशको परिस्थितिले माग गरेर नै आफूले उम्मेदवारी दिएको दाबी गर्छन्। उनी भन्छन्, “यो मेरो अन्तिमपटक नै हो। उमेरले पनि मलाई अब उम्मेदवार हुन दिँदैन। मेरो ५०औँ वर्षको राजनीतिक अनुभवले देशलाई योग्दान गर्न उम्मेदवार हुने निर्णय गरेको हुँ।”
निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिएसँगै सभापति भएका गगन थापाले यी उम्मेदवारहरूको टिकट कटौती गर्न नसके पनि करिब दुईतिहाईलाई नयाँ उम्मेदवार बनाएका छन्। रोचक त के भने, यसपटक कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई नै थापाले टिकट नै दिएनन्। उनी २०४८ सालयता हरेक निर्वाचनमा डडेल्धुराबाट विजयी हुँदै आएका थिए।
यसपटक आरजु राणा, प्रकाशमान सिंह, सशांक कोइराला, सुजाता कोइराला, रमेश लेखकलगायतले पनि टिकट पाएनन्। पूर्व उपसभापति पूर्णबहादुर खड्का भने आफैले उम्मेदवार नबन्ने घोषणा गरे। उनले आफू ‘अवैधानिक सभापति’को हस्ताक्षरबाट जारी हुने टिकट लिएर चुनाव नलड्ने सामाजिक सञ्जाल फेसबुक र एक्समै लेखेका छन्।
उनले भनेका छन्, “नेपाली कांग्रेसको विधानको विपरीत गरेको निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा न्यायका लागि २०८२ माघ ४ गते म स्वयंसमेतले मुद्दा दर्ता गरेको र अवैधानिक विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति स्वतः अवैधानिक हुने मेरो दाबीसमेत भएकोले निजहरूको निर्णय र हस्ताक्षरबाट जारी गरिने टिकटबाट उम्मेदवार हुनु मेरो जीवन भरिको राजनीतिक मूल्य मान्यता र नैतिकताको अडानको प्रतिकूल हुने हुँदा …यसपटक प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नउठ्ने निर्णय गरेको छु।”
प्रत्यक्षतर्फ तुलनात्मक पाका नेताहरू कटौतीमा परे पनि समानुपातिकतर्फको खसआर्यमा भने पाँचपटक मन्त्री नै भइसकेका ७८ वर्षीय केसी पहिलो नम्बरमै छन्। यसअघि उनी नुवाकोटबाट उम्मेदवार बन्ने गरेका थिए। उनी २०४८ देखि मात्र नभई २०३८ को राष्ट्रिय पञ्चायतको निर्वाचनदेखि नै उम्मेदवार हुने गरेका थिए।
यसपटक कांग्रेसको समानुपातिकमा रहेका महेन्द्र थिङ र रोमी गौचन थकाली २०५६ सालमा पनि उम्मेदवार थिए। महेन्द्र थिङ त्यस बेला स्वतन्त्र उम्मेदवार थिए र उनले अर्जुन नरसिंह केसीलाई पराजित गर्न भूमिका खेलेका थिए। उनले अहिलेसम्म संसद् छिर्ने मौका पाएका छैनन्।
थकालीले भने २०५६ सालको चुनाव जितेका थिए। त्यसपछि २०६४ सालको संविधानसभामा पराजित हुँदा २०७० सालमा जिते। तर २०७४ सालमा फेरि पराजित भए। मुस्ताङका पार्टी सभापति पनि रहेका उनले २०७९ सालमा आफ्ना छोरा योगेशलाई उम्मेदवार बनाएर जिताए। यसपटक पनि योगेश नै उम्मेदवार छन्।
जो जितेर पनि दोहोरिन पाएनन्
यसअघि चुनाव जितेका केहीलाई भने कांग्रेसले यसपटक टिकट दिएन। २०६४ सालयता काठमाडौँ–१ बाट लगातार चारपटक जितेका प्रकाशमान सिंहले नै यसपटक उम्मेदवार बन्न पाएनन्। उनीबाहेक कतिपय लगातार दुई या तीनपटक उम्मेदवार भएर निर्वाचित भइसकेकाले पनि यसपटक उम्मेदवार हुन पाएनन्।
२०७९ मा पहिलोपटक संसद् प्रवेश गरेका कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा भने आफैले यसपटक चुनाव नलड्ने घोषणा गरे। काठमाडौँ–१० बाट लगातार तीनपटक निर्वाचित राजेन्द्र केसीले पनि उम्मेदवार नबन्ने घोषणा गरे। उम्मेदवार नबन्ने घोषणा गर्नेमा धादिङका रामनाथ अधिकारी, सुर्खेतका हृदयराम थानी र कैलालीका वीरबहादुर बलायर पनि थिए।
२०७९ को निर्वाचनमा विजयी बनेका रामेछापका पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोकका मोहनबहादुर बस्नेत, नवलपरासीका सशांक कोइराला र विष्णकुमार कार्की, ओखलढुंगाका रामहरि खतिवडा, स्याङ्जाका धनराज गुरुङ र राजु थापाले यसपटक टिकट पाएनन्। त्यस्तै, कञ्चनपुरका रमेश लेखक, बाजुराका बद्री पाण्डे, गोरखाका राजेन्द्र बजगाईं, तेह्रथुमकी सीता गुरुङ, दार्चुलाका दिलेन्द्र बडु, भक्तपुरका दुर्लभ थापालगायतले पनि कांग्रेसबाट टिकट पाएनन्। अघिल्लोपटक जितेका ३० निवर्तमान सांसदले उम्मेदवार हुन पाएनन्।
तर यसअघि हारेका ६ जनालाई भने कांग्रेसले यसपटक पनि दोहोर्याएको छ। दोहोरिएर उम्मेदवार बन्नेमा धनुषा–३ मा महेन्द्र यादव, रौतहट–२ मा मोहम्मद फिर्दोस आलम र रुपन्देही–५ मा भरतकुमार शाह छन्। त्यस्तै, झापा–४ मा देउकुमार थेवे, मकवानपुर–१ मा महालक्ष्मी उपाध्याय डिना र पर्सा–३ मा सुरेन्द्रप्रसाद चौधरी छन्।
केले सधैँ उम्मेदवार भइरहन प्रेरित गर्छ?
२०४८ सालदेखि निरन्तर उम्मेदवार भइरहेका नेताप्रति कोही व्यक्तिको मात्रै नभई समाज र देशको नै साझा प्रश्न भएको राजनीतिक विश्लेषक केशव दाहाल बताउँछन्। पटकपटक केको लोभले उम्मेदवार हुने इच्छा जागृत गर्छ भन्ने जवाफ ती नेताहरूले दिनुपर्ने दाहालको भनाइ छ।
“दुईदेखि तीन कार्यकालसम्म त स्वभाविक हो। त्यसपछि त अर्को पुस्ताका लागि छोड्नुपर्ने होला नि! त्यस्तो नगर्नु सत्ताप्रतिको आशक्ति नै बुझिन्छ,” दाहाल भन्छन्, “राजनीति समयजस्तै गतिशील हुनुपर्छ। समयअनुसार नै नयाँ पुस्ता र सपना आउँछन्। तर हाम्रोमा समय मात्रै अगाडि बढिरह्यो, राजनीति ज्युँका त्युँ रोकियो।”
अर्का राजनीतिक विश्लेषक भाष्कर गौतम पनि निरन्तर उम्मेदवार हुन सत्ताकै नशाले प्रेरित गर्ने बताउँछन्। सत्ताको वरिपरी हुने चाहनाले नै बाँचुञ्जेल उम्मेदवार भइरहन मन लागिरहने उनको भनाइ छ।
तर यसको प्रत्यक्ष असर हाम्रो राजनीति र सार्वजनिक सेवाप्रवाहमा देखिएको उनी गौतम बताउँछन्। “भ्रष्टाचार र कुशासन त्यसको मुख्य जड हो। एउटै व्यक्ति पटकपटक सत्तामा हुनुले राजनीतिक सिन्डिकेटलाई पक्षपोषन गर्छ,” उनी भन्छन्, “यसले पुस्तान्तरणमा पनि ब्रेक लगाउँछ, जसका कारण एउटै व्यक्तिबाट पटकपटक शासित भइरहन बाध्य हुन्छौँ।”




