महोत्तरी - महोत्तरी सदरमुकाम जलेश्वरमा नरेश सिंह क्रिकेट एकेडमीले अन्तर विद्यालय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।सदरमुकाम जलेश्वरस्थित ल.च.मु. जलेश्वर रंगशालामा फाल्गुन ६ गतेदेखि सुरु हुने उक्त प्रतियोगिता नरेश सिंह क्रिकेट एकेडमीद्वारा आयोजना हुँदै आएको प्रतियोगिताको छैठौं संस्करण हो। प्रतियोगिता लिग प्रणालीमा सञ्चालन गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार हालसम्म जलेश्वरस्थित शिशुज्ञान निकुञ्ज, न्यू मोडर्न, एडभान्स लर्नर्स हिमालयन इंग्लिश बोर्डिङ स्कुल तथा वीणा विद्या मन्दिर स्कुलले सहभागिताका लागि आवेदन दिइसकेका छन्। प्रतियोगितामा सहभागी विद्यालयहरूबाट कुनै पनि किसिमको प्रवेश शुल्क नलिइने जनाइएको छ।कक्षा १० सम्मका विद्यार्थी सहभागी हुने प्रतियोगितामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले निर्धारण गरेका नियम लागू हुनेछन्। लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्ने दुई टोलीबीच फाइनल खेल हुने व्यवस्था गरिएको छ।
विद्यालय तहबाटै क्रिकेट प्रशिक्षण प्रदान गर्दै प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्रिकेट खेलाडी तथा प्रशिक्षक सुनिल साहले बताए। यस्तै, यस वर्षको प्रतियोगिताका प्रमुख रितेश सिंहले क्रिकेटप्रतिको आकर्षण घट्न नदिन तथा महोत्तरीमा क्रिकेटका लागि नियमित मञ्चको आवश्यकता पूरा गर्न एकेडमीले विगतदेखि निरन्तर प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिए। स्थानीय तहमा हुने यस्ता प्रतियोगिताले खेलाडीको विकाससँगै दर्शकलाई खेलका प्राविधिक पक्ष, अनुशासन र नियम बुझ्न सहयोग पुग्ने उनको भनाइ छ।
महोत्तरी क्रिकेटमा उल्लेखनीय योगदान दिएका राष्ट्रिय खेलाडी राहुल प्रताप सिंहका दिवंगत पिता नरेश सिंहको स्मृतिमा सञ्चालनमा रहेको उक्त एकेडमीले क्रिकेट र खेलाडीको उत्थान तथा प्रोत्साहनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। स्थानीय समुदाय र खेलाडीहरूको निरन्तर सहयोगका कारण प्रतियोगिता सफल हुँदै आएको आयोजकले जनाएको छ।




