महोत्तरी — नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य तथा नेपाल उद्योग तथा व्यवसायी महासंघका केन्द्रीय सचिव रहेका सरोज यादवले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत विज्ञप्ति सार्वजनिक गर्दै आफू नेकपा एमालेबाट अलग भएको जानकारी दिएका हुन्। महोत्तरीको औरही नगरपालिका–२ औरही स्थायी घर भएका यादव अनेरास्ववियुका पूर्व केन्द्रीय सचिवसमेत हुन्।

उनले भने नेकपा एमालेभित्र नेताहरूको व्यवहार,कार्यशैली र राजनीतिक एजेण्डामा नयाँपन नदेखिएको उल्लेख गरेका छन्। आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको,निर्णय प्रक्रियामा सीमित व्यक्तिको वर्चस्व बढेको तथा पुरानै सोच र शैली हाबी भएपछि पार्टी परित्याग गर्नुपरेको उनको भनाइ छ।

यादवले भनेका छन्,“पार्टीमा प्रवेश गर्दा प्रशंसा गर्ने र पार्टी छाड्दा गाली गर्ने प्रवृत्ति उचित होइन।
सिद्धान्त,विधि र व्यवहारमा सुधार नआएपछि त्याग गर्नु बाहेक विकल्प रहेन।”यसैबीच, उनी धनुषाको जनकपुरधामस्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा रास्वपामा सहभागी भएका हुन्। कार्यक्रममा रास्वपाका पार्टी प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार मनिष झाले यादवलाई अबिर लगाई पार्टीको ब्याच प्रदान गर्दै स्वागत गरे।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै यादवले देशमा पुरानै शैलीको राजनीति जनताले अस्वीकार गरिसकेको बताएका छन्। उनले पारदर्शिता,जवाफदेहिता र विधिमा आधारित राजनीतिक अभ्यासको आवश्यकता औंल्याउँदै मधेसका किसान,व्यवसायी र युवाका मुद्दालाई प्रभावकारी रूपमा उठाउन रास्वपामार्फत सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।





