महोत्तरी-महोत्तरीको बलवा नगरपालिका–३ परौल स्थित आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपेन्द्र यादवले पछिल्लो समय संघीयतामाथि भइरहेको प्रत्यक्ष प्रहारलाई रोक्न आफ्नो नेतृत्वकोजनता समाजवादी पार्टीको कुनै विकल्प नरहेको बताएका छन्।
अध्यक्ष यादवले संघीयता स्थापित गराउन देशले लामो संघर्ष र ठूलो त्याग व्यहोर्नु परेको स्मरण गराउँदै सहिदहरूको रगत र बलिदानबाट प्राप्त संघीय संरचनाको रक्षा गर्न पार्टी सधैँ दृढतापूर्वक उभिने स्पष्ट पारे। “संघीयता स्थापित गराउन धेरै कसरत भएका थिए। लामो समयको संघर्ष र सहिदहरूको शहादतबाट प्राप्त यो उपलब्धिलाई जोगाउन जनता समाजवादी पार्टी हरपल प्रतिबद्ध रहनेछ,” उनले भने।



उनले हरेक प्रकारका विभेद र अन्यायविरुद्ध आवाज बुलन्द गर्ने पार्टी जनता समाजवादी पार्टी मात्रै भएको दाबीसमेत गरे। देशमा समानता, समावेशिता र अधिकार सुनिश्चित गर्न पार्टी निरन्तर संघर्षरत रहने अध्यक्ष यादवको भनाइ थियो।




