महोत्तरी – आसन्न प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसार उत्कर्षमा पुगेको छ । जताततै चुनावी सरगर्मी बढेको छ । मतदानका लागि अब केही दिनमात्र बाँकी रहँदा उम्मेदवार मतदाता भेटघाटमा व्यस्त छन् । तर यसैबीच महोत्तरीका आम सर्वसाधारण भने यसपालि हिउँदे वर्षा नहुँदा चाँडै पानीको संकट पर्नसक्ने चिन्ताले पिरोलिएका छन् । फागुनको तेस्रो साता बितिसक्दासम्म हिउँदे वर्षा नहुँदा किसान र स्थानीय बासिन्दामा चिन्ता थपिएको हो ।
“खै, हिउँद बित्नै लाग्यो, पानी पर्ने छाँट देखिन्न । यो हिउँदमा पानी नपरे बालीनाली मात्र होइन, एकाध महिनाभित्रै खानेपानीकै संकट पर्लाजस्तो छ,” गौशाला नगरपालिका–१ का सुरेन्द्र महतो भन्छन्, “हिउँदे वर्षा नभए यहाँका पानीका मुहान चैतमै सुक्ने छन् ।” उनका अनुसार केही दिनभित्रै पानी नपरे नयाँ वर्ष २०८३ को सुरुआतमै पानीको हाहाकार हुनसक्छ । विगतमा हिउँदे वर्षा नभएको वर्ष चैतमै खोल्साखोल्सी, जरुवा, नदीका मुहान, इनार र चापाकल सुक्दा खानेपानीको संकट व्यहोर्नुपरेको स्थानीय बासिन्दा सम्झन्छन् । यही चिन्ताले चुनावी उत्साहसमेत जाग्न नसकेको गौशाला–१ कै गणेश महतो बताउछन् ।



गाउँ–नगरमा चुनावी प्रचारप्रसार तीव्र भए पनि किसान र सर्वसाधारण त्यसमा रमाउन सकेका छैनन् । हिउँदे वर्षा नहुँदा चैतीबाली राम्रोसँग नफस्टाउने चिन्ता किसानमा छ । “यसपालि पानी नपरी हिउँद बित्दैछ, रवि (चैती( बालीका बोट पानीबेगर ओइलिन थाले”, बर्दिबास–६ किसाननगरका ६५ वर्षीय कुलबहादुर भुजेल भन्छन्, “चैत नबित्दै पानीको हाहाकार पर्लाजस्तो छ ।” उनका अनुसार पानी नपर्दा उत्तरी भेगका वैशाखी सागसब्जीका बोटसमेत सुक्न थालेका छन् । भुजेलका छिमेकी ७५ वर्षीय जगन्नाथ महतो पनि जग्गा सुक्दै जाँदा सागसब्जी उत्पादनमा असर परेको बताउछन् ।
चुनावी चहलपहल बढे पनि किसानको ध्यान खेतबारीमै छ । “हाम्रा दु:ख हामीसँगै छन्, पानीबेगर सुक्दै गएको बाली हेरेर कसरी चुनावले मन तान्ला ?” भुजेलको प्रश्न छ । बर्दिवास–७ मनहरिपुरका ७० वर्षीय किसान विन्देश्वर यादवले पनि सिँगो हिउँद पानी नपरी बित्न लागेकोमा विरक्ति व्यक्त गरे। “मजरदै आँपलाई मधुवा रोगबाट जोगाउन वर्षा चाहिन्छ,” उन भन्छन्, “तर पानी नपरी गर्मी बढ्न थाल्यो ।” यसले पानीको संकट थप गहिरिने लक्षण देखिएको उनको भनाइ छ ।
बर्दिवास–९ पशुपतिनगरका ७० वर्षीय विसुनदेव महतोका अनुसार मौसमको वर्तमान संकेतले खडेरीको जोखिम बढाएको छ । गत वर्षको खडेरी सम्झँदै उनी यसपालि पानी र अन्न दुवैको संकट आउनसक्ने आशंका व्यक्त गर्छन् ।
भारतसँग सीमा जोडिएको दक्षिणी भेगमा पनि अवस्था उस्तै छ । जलेश्वर–५ चौरियाका ७५ वर्षीय किसान रहिमन मण्डल भन्छन्, “खेतीपाती अनुकूल भए न खुसी हुन्छ, विरक्तिएको मनमा के चुनावको रमाइलो हुन्छ र ?” उनका अनुसार गहुँको बालामा दाना पोटिलो हुन नसकेको र आँपको मञ्जरीमा मधुवा रोगको जोखिम बढेको छ ।
सोनमा–५ का रामप्रताप यादव भन्छन्, “चुनावले जीवन बदलिए न चासो हुन्छ । भोट त हालिरहेकै छौँ, तर खेतबारीले न सिँचाइ पायो, न समयमा बीउमल ।” किसानका अनुसार पछिल्ला वर्षमा प्रकृति पनि प्रतिकूल बन्दै गएको छ । भङ्गाहा–४ रामनगरका ८० वर्षीय दीपबहादुर फुँयाल भन्छन्, “पहिले हिउँदमा एक पटक पानी परे बालीनालीदेखि गर्मीमा खानेपानीको समस्या हुँदैनथ्यो । अहिले भने हिउँदभरि पानी नपर्दा चैतमै मुहान सुक्न थालेका छन् ।”
हिउँदे वर्षा नहुँदा जमिनमुनिको पानीको सतह गहिरिँदै जानु र स्रोतका मुहान चैतमै सुक्नु यहाँको दीर्घकालीन समस्या बनेको छ । उत्तरी क्षेत्रमा खोल्साखोल्सीको जरुवा पानी र इनार मुख्य स्रोत हुन् भने मध्य तथा दक्षिणी भेगमा चापाकलमा निर्भरता बढी छ ।
चुनावका बेला भोट माग्न आउने उम्मेदवारलाई यी समस्या सुनाइए पनि समाधानप्रति विश्वास जाग्न नसकेको किसान बताउछन् । “हामीले भोट दिँदै आएका छौँ, दु:ख सुनाएकै हौँ,” गौशाला–४ का रिझन साह भन्छन् “चुनाव नहुँदासम्म आशा हुन्छ, सकिएपछि फेरि जस्ताको त्यस्तै ।”
पाका किसानका अनुसार वन, चुरे क्षेत्र र नदीकिनारमा बढ्दो उत्खनन तथा अतिक्रमणले प्राकृतिक सन्तुलन बिग्रिँदा वर्षा चक्र प्रभावित भएको छ । यसपालिको निर्वाचनमा विकासका गफभन्दा प्राकृतिक स्रोत संरक्षण र समुचित प्रयोगबारे ठोस प्रतिबद्धता आवश्यक रहेको बर्दिवास–८ हात्तीलेटका ६० वर्षीय जगदीश काफ्लेको धारणा छ ।




