महोत्तरी – धनुषा र महोत्तरीको सिमानामा पर्ने रातु पुल क्षेत्रमा शंकास्पद वस्तु फेला परेको छ। पुलको छेउमा फेला परेका दुईवटा शंकास्पद वस्तुलाई नेपाली सेनाले सामान्य विस्फोटक पदार्थ भएको पुष्टि गरेको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थलमा पुगेर ती वस्तुहरूलाई निष्क्रिय पारेको छ । निष्क्रिय पार्ने क्रममा उक्त वस्तुहरू धुवाँसहित ठुलो आवाजमा पड्किएका थिए ।
मंगलबार साझ करिब ४ बजेतिर यात्रुहरूले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रत्यक्षदर्शी एवं घाइते यात्रु सन्देश चौधरीका अनुसार उनी होली खेलेर धनुषाबाट बर्दिवासतर्फ फर्किँदै गर्दा बाटोमा रातो बाल्टिन जस्तो वस्तु देखेका थिए ।




‘हामी होली खेलेर बर्दिवासतर्फ आइरहेका थियौँ, बाटोमा एउटा रातो बाल्टिन जस्तो वस्तु देखियो,’ उनले भने, ‘त्यसलाई लात्तीले हान्दा गुड्यो र केही बेरमै पड्कियो ।’ उक्त विष्फोटमा परी चौधरीको पेट र ढाडमा सामान्य चोट लागेको छ। हाल उनको अवस्था सामान्य रहेको जानकारी दिइएको छ ।
घटना लगत्तै सेनाको टोलीले आसपासका अन्य क्षेत्रमा पनि विस्फोटक पदार्थ हुन सक्ने आशंकामा ‘सर्च अपरेसन’ जारी राखेको छ । उक्त वस्तु कसले र किन राखेको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । सुरक्षा निकायले स्थानीय बासिन्दा तथा यात्रुहरूलाई त्रसित नहुन आग्रह गर्दै कुनै पनि शंकास्पद वस्तु देखिएमा नछोइ तुरुन्तै नजिकैको सुरक्षाकर्मीलाई जानकारी गराउन अनुरोध गरेको छ ।





