महोत्तरी – गर्मी बढेसँगै मधेसका जिल्लामा लामखुट्टेको प्रकोप बढ्न थालेको छ । महोत्तरीको औरही नगरपालिकामा समयमै किटनाशक औषधि नछर्किँदा लामखुट्टेको समस्या झनै बढेको स्थानीयवासीले बताएका छन् ।
औरही नगरपालिका–२ का स्थानीय अशोककुमार मण्डलले नगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि समय मै औषधि नछर्किँदा सर्वसाधारण नागरिक समस्यामा परेको बताउनुभयो । उहाँका अनुसार पछिल्ला केही दिनयता लामखुट्टेको सङ्ख्या अत्यधिक बढेकाले बेलुका मात्र होइन, दिनको समयमा समेत घरभित्र बस्न कठिन भएको छ । लामखुट्टेको टोकाइबाट विभिन्न रोग फैलिन सक्ने जोखिम बढेकाले तत्काल नियन्त्रणका उपाय अपनाउनुपर्ने उहाँको भनाइ छ ।



यस्तै, गौशाला नगरपालिका–५ का अजयकुमार साहले पछिल्ला दिनहरूमा लामखुट्टेको प्रकोप उल्लेख्य रूपमा बढेको बताउनुभयो । उहाँका अनुसार लामखुट्टेका कारण बेलुका तथा रातिको समयमा बस्नै नसकिने अवस्था रहेको छ । डेङ्गु लगायतका रोग फैलिन सक्ने जोखिम बढेकाले सम्बन्धित स्थानीय तहले समयमै किटनाशक औषधि छर्नुपर्ने उहाँको भनाइ छ ।
रामगोपालपुर नगरपालिका–५ का अरुणकुमार चौधरीले पनि गाउँ तथा आसपासका क्षेत्रमा लामखुट्टेको समस्या बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार केही दिनयता लामखुट्टेका कारण साँझपख घरबाहिर बस्न समेत कठिन हुने अवस्था बनेको छ । लामखुट्टेको टोकाइबाट रोग फैलिन सक्ने सम्भावना बढेकाले नियन्त्रणका लागि सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
मौसम परिवर्तनसँगै महोत्तरीका विभिन्न स्थानीय तहमा लामखुट्टेको प्रकोप बढ्दै गएको स्थानीयको भनाइ छ । औरही, गौशाला, जलेश्वर, भंगहा तथा रामगोपालपुर नगरपालिका लगायत जिल्लाका अधिकांश पालिकामा लामखुट्टेको विगविगी बढेको बताइएको छ ।विगतमा स्थानीय तहले समय–समयमा किटनाशक औषधि छर्ने काम गर्दै आए पनि पछिल्लो समय त्यसलाई निरन्तरता नदिँदा समस्या बढेको नगरवासीले गुनासो गरेका छन् ।
लामखुट्टेको प्रकोपसँगै डेङ्गुका बिरामी बढ्न सक्ने जोखिम रहेकाले समयमै आवश्यक सावधानी अपनाउन स्थानीयले सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।





