जनकपुर – महोत्तरीको गौशाला नगरपालिका–११ कालिपुर निवासी २६ वर्षीय तेज नारायण सिंह हाल ब्लड क्यान्सरका कारण जनकपुरस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन्।
उपचारका क्रममा उनको हेमोग्लोबिनको मात्रा अत्यन्तै घटेर ३.१ पुगेपछि तत्काल रगत आवश्यक परेको थियो। बिरामीको अवस्था गम्भीर बनेपछि रगतको अभाव देखिएको अवस्थामा जनकपुरधामका हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. रामबिनय चौधरीले मानवताको उदाहरण प्रस्तुत गर्दै गएराति करिब ११:४५ बजे आफ्नै “बी पोजिटिभ” समूहको रगत दान गर्नुभएको हो।



डा. चौधरीको उक्त मानवीय सहयोगबाट बिरामीको उपचार प्रक्रियामा महत्वपूर्ण सहयोग पुगेको अस्पताल स्रोतले जनाएको छ। कठिन परिस्थितिमा गरिएको उक्त सहयोगप्रति बिरामीका आफन्त तथा स्थानीयवासीले आभार व्यक्त गरेका छन्।
गौशाला नगरपालिका–११ का स्थानीय रमेश कुमार महतोले चिकित्सक चौधरीको कार्य सराहनीय रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “यस्तो कठिन अवस्थामा राति नै आएर रगत दान गर्नु ठूलो मानवता हो।
डा. चौधरीज्यूले देखाउनुभएको यो कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।” मानवीय सेवाको भावनासहित गरिएको रक्तदानले समाजमा सहकार्य, सहयोग र परोपकारको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ।








