महोत्तरी – शुक्रबार राति आएको हावाहुरीसहितको वर्षापछि महोत्तरीको बर्दिबासमा एक महिलाको शव फेला परेको छ।
बर्दिबास नगरपालिका–१ स्थित पूर्व–पश्चिम लोकमार्गको कल्भर्टमुनि जमेको पानीमा शनिबार बिहान अन्दाजी ४० वर्षीया महिलाको शव भेटिएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न सकेको छैन।



स्थानीयले पानीमा आंशिक रूपमा डुबेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। ती महिला केही समयदेखि बर्दिबास क्षेत्रमा मागीखाने गर्दै हिँड्ने गरेको स्थानीयको भनाइ छ।
इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी विकास बमका अनुसार घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि बर्दिबास अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




