अर्जुन कुमार साह,धनुषा – धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–६, सखुवामा २०८२ चैत ६ गते मुसहर समुदायलाई लक्षित गरी नागरिकता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रम लुथरन वल्ड फेडरेशन नेपालको सहयोग, लुथरन सामुदायिक कल्याण समाजको समन्वय तथा ऋषीवंश एकता सेवा समाज नेपालको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रमको उद्देश्य मुसहर समुदायमा नागरिकता प्राप्तिसम्बन्धी कानुनी प्रावधान, आवश्यक कागजात, प्रक्रिया तथा नागरिकता नहुँदा भोग्नुपर्ने समस्याबारे जानकारी गराउनु रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई जन्मदर्ता, नागरिकता र नागरिकता सिफारिस प्रक्रियाबारे जानकारी गराउँदै पीडितलाई थप सहयोग गर्न पैरवीबारे समेत विस्तृत जानकारी प्रदान गरिएको थियो।



अभिमुखीकरण कार्यक्रममा विशेषगरी अभिभावकसँग नागरिकता नहुनु, आवश्यक कागजातको अभाव, प्रक्रिया सम्बन्धी जानकारीको कमी तथा सिफारिस लिन कठिनाइजस्ता समस्याहरूबारे छलफल गरिएको थियो। वक्ताहरूले नागरिकता प्रत्येक नागरिकको मौलिक अधिकार भएकाले मुसहर समुदायजस्ता पछाडि परेका वर्गसम्म यसको पहुँच सुनिश्चित गर्न स्थानीय तह र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताएका थिए।
कार्यक्रममा २५ जना मुसहर समुदायका महिला, पुरुष तथा युवाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले नागरिकता सम्बन्धी अन्योल हटाउन तथा आवश्यक प्रक्रिया बुझ्न सहज भएको बताएका थिए।
कार्यक्रमको अन्त्यमा मुसहर समुदायका नागरिकलाई नागरिकता प्राप्तिमा सहजीकरण गर्न स्थानीय सरकार, सरोकारवाला निकाय तथा समुदायबीच निरन्तर समन्वय र पैरवी आवश्यक रहेको निष्कर्ष निकालिएको छ।




