जनकपुरधाम - नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले देशलाई नयाँ उचाईमा लैजान समाजवादी क्रान्तिको आवश्यकता रहेको बताएका छन् ।
महोत्तरीको भंगहा नगरपालिकास्तरीय माओवादी केन्द्रको पहिलो नगर अधिवेशनलाई सम्बोधन गर्दै नेता पोखरेलले देश र समाजमा रहेको विभेद र असमान्ताको अन्त्य नभएकोले यी सबै कुराको अन्त्यका समाजवादी क्रान्तिको झण्डा उठाउनु पर्ने बताए ।
नेकपा माओवादी केन्द्रका स्कूल विभागका प्रमुख समेत रहेका पोखरेलले पार्टीको संगठनलाई जनतासँग जोड्दै विधी र पद्धतिमा अब माओवादी केन्द्र संचालन हुने बताए ।
उनले भने, ‘हाम्रो पार्टीको ७ लाख संगठित सदस्य छन्। स्वातन्त्रत ढंगले पार्टीको संगठन निर्माण गर्न सकिएन भने अरुको बैशाखीमा टेकेर समाजवादी क्रान्ति सफल हुनसक्दैन।’
उनले १२५ जाती र १२३ भाषाभाषी भएको देशलाई नयाँ उचाईमा लैजान समाजवादी क्रान्तिको आवश्यकता रहेको उल्लेख गरे।
पूर्व शिक्षामन्त्री समेत रहेका पोखरेलले मधेश रुपान्तरणका लागि सामाजिक एवं साँस्कृतिक जागरणको अभियान चलाउनुपर्ने बताउँदै उनले समाजमा छुवाछुत, अन्धविश्वास विरुद्ध लड्नुपर्ने आवश्यक्ता रहेको बताए । उनले भने, ‘समाजमा बोक्सी, छुवाछुत, अन्धविश्वास छ। यसविरुद्ध लड्नु पर्छ।’




