महोत्तरी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपककुमार साह श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त भएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा उनले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। साह महोत्तरी–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।



नवनियुक्त मन्त्री साह लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनमा ‘पिएचडी स्कलर’ हुन्। उनले लण्डन स्कुल अफ इकोनोमिक्सबाट हेल्थ पोलिसी, प्लानिङ तथा फाइनान्सिङमा स्नातकोत्तर गरेका छन्।
त्यस्तै, उनले इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थमा स्नातकोत्तर तथा अप्टोमेट्री अध्ययन गरेका छन् भने नेपाल ल क्याम्पसबाट एलएलबी गरेका छन्।
साहले विश्व स्वास्थ्य सङ्गठन तथा युके हेल्थ सेक्युरिटी एजेन्सीजस्ता अन्तर्राष्ट्रिय संस्थामा नीति निर्माण र स्वास्थ्य प्रणाली सुधारसम्बन्धी अनुभव बटुलेका छन्। साथै, मैथिली भाषा, कला तथा साहित्यको प्रवर्द्धनमा पनि सक्रिय रहँदै आएका छन्।




