औरही,महोत्तरी – २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा औरही नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयबाट कुल ५११ जना विद्यार्थी सहभागी हुने भएका छन्।
नगरपालिकाभित्र रहेका ४ सामुदायिक र २ निजी विद्यालयबाट नियमित तथा ग्रेडवृद्धि तर्फका विद्यार्थीहरू परीक्षामा सहभागी हुन लागेका हुन्। विवरणअनुसार श्री प्रसाद सिंह माध्यमिक विद्यालयबाट नियमित ८४ र ग्रेडवृद्धि १९ गरी १०३ जना, श्री सोन्फी दशैं माध्यमिक विद्यालयबाट नियमित १४७ र ग्रेडवृद्धि ६१ गरी २०८ जना, श्री रामविलाश जनता माध्यमिक विद्यालयबाट नियमित ७८ र ग्रेडवृद्धि २० गरी ९८ जना तथा श्री माध्यमिक विद्यालय बैरियाबाट नियमित ३४ र ग्रेडवृद्धि १४ गरी ४८ जना विद्यार्थी सहभागी हुने भएका छन्।



त्यस्तै, निजी तर्फ चिल्ड्रेन ग्लोगी पब्लिक विद्यालयबाट ३७ जना र द सनराइज माध्यमिक विद्यालयबाट १७ जना विद्यार्थी परीक्षामा सहभागी हुने जनाइएको छ। आगामी चैत १९ गतेदेखि सुरु हुने एसइई परीक्षाका लागि आवश्यक हाजिरी पुर्याएका नियमित र ग्रेडवृद्धि तर्फका गरी ५११ जना विद्यार्थी सहभागी हुने सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूले जानकारी दिएका छन्।
यद्यपि, नगरपालिकाको शिक्षा शाखाबाट भने यस सम्बन्धमा स्पष्ट विवरण प्राप्त हुन सकेको छैन।शिक्षा शाखा प्रमुख धनबहादुर राईले आफूलाई यसबारे जानकारी नभएको र विवरण जिल्लामा हुने प्रतिक्रिया दिएका छन्।
यस विषयमा स्थानीय समाजसेवी घनश्याम यादवले कडा प्रतिक्रिया व्यक्त गर्दै भने,२०८२ सालको एसइई जस्तो महत्वपूर्ण परीक्षामा आफ्नै पालिकाबाट कति विद्यार्थी सहभागी हुँदैछन् भन्ने तथ्यसमेत शिक्षा शाखालाई थाहा नहुनु अत्यन्त गैरजिम्मेवारपूर्ण र लज्जास्पद विषय हो। यस्तो प्रवृत्तिले शिक्षा व्यवस्थापनको वास्तविक अवस्था झल्काउँछ।उनले थपे,“शिक्षा शाखा नै आफ्नै तथ्यांकमा बेखबर रहने हो भने विद्यालयको अनुगमन, गुणस्तर सुधार र नीति कार्यान्वयन कति प्रभावकारी छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो।
यसप्रति सम्बन्धित निकायले गम्भीर ध्यान दिन जरुरी छ।





