महोत्तरी – प्रस्तावित बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना खारेज गर्ने समाचारपछि नागरिक समाज आन्दोलनमा उत्रिएको छ।

सोमबार केही समय पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका उनीहरूले जिल्ला प्रशासन कार्यालय महोत्तरीमार्फत इलाका प्रशासन कार्यालय बर्दिवासका प्रमुख माधव राज न्यौपाने समक्ष ध्यानाकर्षण पत्र बुझाएका छन्।




ध्यानाकर्षण पत्रमा बर्दिवास मेडिकल कलेज आयोजना खारेज गर्ने समाचारप्रति गम्भीर आपत्ति जनाइएको छ। नागरिक समाजले उल्लेख गरेका छन् कि संविधान अनुसार नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने दायित्व राज्यको हो र यस्तो महत्वपूर्ण आयोजना रोक्नु हुँदैन।
“एक प्रदेश, एक मेडिकल कलेज” अवधारणाअनुसार २०७६ सालमा स्थापना भएको उक्त आयोजना अन्तिम चरणतर्फ पुगेको छ। मन्त्रिपरिषद्को २०८०/१०/०३ को निर्णयअनुसार जग्गा प्राप्त भइसकेको, १३.७४ हेक्टर क्षेत्रमा करिब १९ हजार बिरुवा रोपिसकिएको र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भइसकेको छ।
नागरिक समाजले वन तथा भू–संरक्षण विभागसँगको सम्झौता कार्यान्वयन गरी निर्माण प्रक्रिया यथाशीघ्र अघि बढाउन सरकारसँग माग गरेको छ।
ध्यानाकर्षण पत्रमा वैकुण्ठ प्रसाद कायस्थ, निरोज अधिकारी, गणेश बस्नेत, सुगम पौडेल र कपिल रिसाललगायतका प्रतिनिधिहरूको हस्ताक्षर छन्। नागरिक समाजले चेतावनी दिएका छन्, “स्वास्थ्य सेवा र शिक्षा विस्तारका लागि अत्यन्तै महत्वपूर्ण आयोजनालाई रोक्न खोजिए थप सशक्त आन्दोलन गर्नेछौं।”






