महोत्तरीको बर्दिबास नगरपालिकामा मानवसेवा र स्वास्थ्य सचेतनालाई केन्द्रमा राख्दै निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ। २०८२ साल चैत्र २१ गते सञ्चालन गरिएको उक्त शिविरले स्थानीय नागरिकमा स्वास्थ्यप्रतिको जागरूकता अभिवृद्धि गर्दै ठूलो संख्यामा सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुर्याएको छ।
वडा नम्बर ६ र ७ का सेवाग्राहीहरूका लागि राष्ट्रिय माध्यमिक विद्यालय, प्रेमनगरमा तथा वडा नम्बर ८, १२ र १३ का लागि विजलपुरा स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको थियो। शिविरमा ३५० भन्दा बढी नागरिकको आँखा परीक्षण गरिएको थियो, जसले कार्यक्रमको प्रभावकारिता र आवश्यकता दुवैलाई स्पष्ट पारेको छ।

शिविरका क्रममा ५८ जना बिरामीमा मोतीविन्दु (Cataract) पहिचान गरिएको थियो। ती सबै बिरामीहरूलाई थप उपचारका लागि Hetauda Community Eye Hospital मा निःशुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाइएको छ, जसले उनीहरूको दृष्टि पुनःप्राप्तिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रल्हाद कुमार क्षेत्री को विशेष उपस्थिति रहेको थियो। उहाँले यस्ता स्वास्थ्य सेवामूलक कार्यक्रमहरूले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा यस्ता पहललाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।




उक्त शिविर रोटरी क्लब अफ हेटौंडा को आयोजनामा सम्पन्न भएको हो भने रोटरी क्लब अफ बर्दिबास रोट्र्याक्ट क्लब अफ हेटौंडा र रोट्र्याक्ट क्लब अफ बर्दिबासले सह–आयोजकको रूपमा सक्रिय भूमिका निर्वाह गरेका थिए। साथै बर्दिबास नगरपालिकाको सहकार्य र हेटौंडा सामुदायिक आँखा अस्पताल प्राविधिक सहयोगले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको थियो।
यस महत्वपूर्ण सेवामूलक अभियानमा Rotary Clubs of Tasmania तथा David Yaxley को समेत सहयोग रहेको थियो, जसले कार्यक्रमलाई अन्तर्राष्ट्रिय सहयोगको उत्कृष्ट उदाहरणको रूपमा प्रस्तुत गरेको छ।
समग्रमा, यो शिविरले “Gift of Sight” अभियानलाई सार्थक बनाउँदै समुदायमा सेवा, सहकार्य र मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।




