विशाल बस्नेत,महोत्तरी – मधेस प्रदेशकै गौरवको योजनाका रूपमा हेरिएको बर्दिवास मेडिकल कलेज निर्माणका लागि गरिएको वृक्षारोपण क्षेत्रको वन तथा भू–संरक्षण विभागले स्थलगत निरीक्षण गरेको छ । मेडिकल कलेज निर्माणका लागि प्रस्तावित क्षेत्रमा १,९६७ रुख काटिने भएपछि सर्वोच्च अदालतले १० गुणा अर्थात् १९,६७० विरुवा रोपेर हुर्काउन २०८० जेठ २९ गते आदेश जारी गरेको थियो ।
सोही आदेश अनुसार मडाहा र सोनी खोलामा २३ हजारभन्दा बढी विरुवा रोपिएको छ । उक्त विरुवाको अवस्थाबारे सुनिश्चित गर्न विभागबाट स्थलगत अनुगमन गरिएको आयोजना प्रमुख निर्मल घिमिरेले जानकारी दिए ।



वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक उदव घिमिरेका अनुसार यस अनुगमनसँगै प्रस्तावित निर्माणस्थल माईस्थानको जग्गा प्राप्तिका लागि आयोजनासँग सम्झौता प्रक्रिया अघि बढ्ने छ । संघीय वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि खिलानाथ दाहालसहितको टोलीले निरीक्षणपछि रोपिएका बिरुवा हुर्कने अवस्थामा पुगेकोमा खुशी व्यक्त गरेका छन् ।
‘अदालतको आदेश कार्यान्वयनको चरणमा पुगिसकेका छौँ, अब मेडिकल कलेज निर्माणको गाँठो फुक्ने छ,’ उपमहानिर्देशक घिमिरेले भने । संघीय सरकारले ‘सुशासन मार्गचित्र–२०८२’ कार्यान्वयन प्रक्रिया अघि बढाएपछि मेडिकल कलेज आयोजना खारेज हुनसक्ने आशंकामा स्थानीयहरू आन्दोलित बनेका थिए ।
सोही सन्दर्भमा केही दिनअघि बर्दिवासमा स्थानीयहरूले पूर्व–पश्चिम राजमार्ग आधा घण्टा अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए । अनुगमनपछि अब कानुनी जटिलता समाधान हुने प्रतिबद्धतासँगै आयोजना अघि बढ्ने आशा पलाएको स्थानीय चुडामणि पोखरेलले बताए ।
त्यस्तै, माइस्थानस्थित सामुदायिक वन तथा नदी उकास क्षेत्रअन्तर्गत ५४.५८४ हेक्टरमा निर्माण हुने मेडिकल कलेज अब अघि बढ्ने विश्वास स्थानीयले व्यक्त गरेका छन् । ‘सम्झौता भएपछि १,९६७ रुख कटान प्रक्रिया अघि बढ्छ,’ स्थानीय विष्णु खड्काले भने ।
वन क्षेत्रभित्र आयोजना पर्ने भन्दै २०७८ फागुनमा दायर गरिएको मुद्दाका कारण दुई वर्ष अन्योलमा रहेको यो योजना सर्वोच्च अदालतको २०८० जेठ २९ को फैसलापछि अघि बढ्ने बाटो खुलेको थियो ।
परियोजना अनुसार दुई वटा भवनमा ६०० र ४०० बेड गरी कुल १,००० बेडको अस्पताल, मेडिकल कलेज भवन, प्राध्यापक तथा कर्मचारी आवास, विद्यार्थी होस्टेल, कुरुवा घरलगायतका भौतिक संरचना निर्माण गरिने छ ।




