महोत्तरी – प्रादेशिक अस्पताल जनकपुरधामको सघन कक्ष (आईसीयू) अगाडि बसेका महोत्तरीको एकडारा गाउँपालिका–५, गेना बथनाहाका ६८ वर्षीय रामवरण यादवको पीडा शब्दमा बयान गर्न कठिन छ। आँखा भरि आँसु पार्दै उहाँ भन्नुहुन्छ, “डाक्टरले यहाँ उपचार सम्भव छैन, बाहिर लैजानु भनेका छन्। तर मसँग पैसा छैन। छोरालाई बचाउन सक्ने अवस्था छैन, टुलुटुलु हेरेर रुनु बाहेक केही गर्न सकेको छैन।”बुबा रामवरण यादवले भकानिँदै भन्नुहुन्छ, “डाक्टरले दुर्घटना भएको भोलि पल्टै बिहान यहाँ उपचार सम्भव छैन बाहिर लानु उपचारको लागि छोरालाई भने पनि मसँग पैसा छैन, कि छोरालाई अन्य ठाउँमा लगौँ। मसँग पैसा छैन। आफन्त छिमेकी सबैलाई गुहारी रहेकोछु, पैसा खोजी रहेको छु। आज पैसाबिना मेरो छोरा मृत्युको मुखमा छ। म टुलुटुलु हेरेर रुदै बस्नु परेको छ।“

मंगलबार महोत्तरीको जलेश्वर नगरपालिका र एकडारा गाउँपालिकाको सीमामा दुई मोटरसाइकल आपसमा जुध्दा ट्याङ्की विस्फोट भई आगलागी भएको थियो। एसईई परीक्षा दिएर घर फर्किरहेका विद्यार्थी सवार मोटरसाइकल दुर्घटनामा परेपछि भएको आगलागीमा तीन जनाको जलेर मृत्यु भएको थियो भने तीन जना गम्भीर घाइते भएका थिए।घाइतेमध्ये २० वर्षीय अजय कापरको अवस्था चिन्ताजनक छ। आर्थिक अभावका कारण उनको थप उपचार अन्यत्र गराउन नसकिएको परिवारले जनाएको छ। प्रारम्भिक उपचारपछि चिकित्सकले उनलाई थप विशेषज्ञ उपचारका लागि रेफर गरे पनि आवश्यक रकम अभाव हुँदा उनी अझै प्रादेशिक अस्पताल जनकपुरधाममै अचेत अवस्थामा छन्।




बुवा रामवरण यादवका अनुसार दैनिक ज्याला मजदुरी गरेर परिवार चलाउँदै आएका उहाँ अहिले छोराको उपचार खर्च जुटाउन असमर्थ हुनुहुन्छ। “हामीलाई त दैनिक खर्च धान्न पनि गाह्रो छ, ठूलो अस्पताल लैजान कहाँबाट पैसा ल्याउनु?” उहाँले दुखेसो पोख्नुभयो।अजयका आफन्तका अनुसार उनी पढाइसँगै गाउँमै मजदुरी गरेर परिवारलाई सघाउँदै आएका थिए। “अजय आफैं पनि कमाएर घर धान्थ्यो, आज पैसाको अभावमा उसैलाई बचाउन सकिरहेका छैनौं,” उहाँको फुपु दुखियादेवी कापरले भन्नुभयो।

दुर्घटनापछि मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले घाइतेहरूको उपचार खर्च सरकारले व्यहोर्ने आश्वासन दिनुभएको थियो। तर व्यावहारिक रूपमा तत्काल आर्थिक व्यवस्थापन नहुँदा अजयको उपचार अझै अन्यत्र सार्न सकिएको छैन।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार उक्त दुर्घटनामा परेर जलेश्वर नगरपालिका–६ का २० वर्षीय रबि दास, सोही ठाउँका सुभास दास र एकडारा गाउँपालिका–३ का अभिषेक मण्डलको जलेर मृत्यु भएको थियो। घाइतेमध्ये अजय कापर, रोहित दास र अभय कापर उपचाररत छन्।प्रहरीका अनुसार दुर्घटनापछि ट्याङ्की विस्फोट हुँदा दुवै मोटरसाइकलमा आगलागी भएको थियो, जसका कारण तीन जना विद्यार्थीको जलेर घटनास्थलमै मृत्यु भएको हो।
प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. जामुन प्रसाद सिंहका अनुसार अजयलाई गम्भीर अवस्थामा अस्पताल ल्याइएको थियो। प्रारम्भिक उपचारपछि केही सुधार देखिए पनि थप उपचारका लागि न्युरो सर्जनको विशेष टोली आवश्यक पर्ने भएकाले अन्यत्र रेफर गरिएको हो।उपचारमा संलग्न न्युरो सर्जन डा. प्रद्युम्न कुमार यादवले अजयको अवस्था अत्यन्त गम्भीर रहेको बताउँदै उनलाई भेन्टिलेटरमा राखिएको जानकारी दिनुभयो। “सिभियर इन्जरी भएको छ, मस्तिष्कमा रगत जमेको छ। यहाँ सम्भव उपचार गरिरहेका छौं तर थप विशेषज्ञ सेवा आवश्यक छ,” उहाँले भन्नुभयो।
हाल रामजानकी अस्पताल जनकपुरधाममा अन्य दुई घाइतेको उपचार भइरहेको छ भने अजयलाई ठूलो अस्पतालमा सार्न आर्थिक अभाव मुख्य बाधा बनेको छ।पीडित परिवारले अजयको ज्यान बचाउनका लागि सहयोगको अपिल गरेको छ। बुवा रामवरण यादवले अधिकारकर्मी, समाजसेवी, सम्बन्धित निकाय तथा सहयोगी मन भएका सबैसँग आर्थिक सहयोग जुटाइदिन आग्रह गर्नुभएको छ। उहाँको विन्ती छ—“मेरो छोरालाई बचाइदिनुस्, मसँग अब केही बाँकी छैन।”




