धनुषा जिल्लाको हंसपुर नगरपालिका–६ मा एकदिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। उक्त शिविरमा करिब पाँच सयभन्दा बढी स्थानीयवासीले स्वास्थ्य परीक्षण गराई सेवा लिएका छन्।
कार्यकर्म हंसपुर नगरपालिका वडा नं ६ को वडा अध्यक्ष सुरेन्द्र कुमार मण्डलको अध्येछता तथा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. बृज मोहन रजकको प्रमुख आतिथ्यता तथा फिजिसियन तथा सर्जन डा. अस्मिता कनोजिया रजकको विशिष्ट आतिथ्यतामा शिविर सञ्चालन गरिएको थियो। शिविरमा जनरल फिजिसियन डा. सन्दीप महतो, बालरोग विशेषज्ञ डा. इन्द्र भूषण सिंह तथा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. विपिन पाण्डेले सेवा प्रदान गरेका थिए।
शिविर नैना हस्पिटल प्रा.लि. एण्ड दिव्या क्लिनिक र हंसपुर नगरपालिकाको सहकार्यमा आयोजना गरिएको हो।



कार्यक्रममा बोल्दै वरिष्ठ डा. रजकले महिलाहरूमा स्वास्थ्यसम्बन्धी जनचेतनाको कमीका कारण समयमै उपचार नपाउँदा ज्यानसमेत जोखिममा पर्ने गरेको बताए। उनले समयमै उपचार गरिएमा पाठेघरसम्बन्धी समस्याहरू समाधान गर्न सकिने जनाए।
त्यस्तै, जनरल फिजिसियन डा. सन्दीप महतोले ग्रामीण भेगका विपन्न वर्ग स्वास्थ्य सेवाबाट वञ्चित हुने भएकाले गाउँमै पुगेर यस्तो शिविर सञ्चालन गरिएको बताए।
यता बालरोग विशेषज्ञ डा. इन्द्र भूषण सिंहका अनुसार हाल बालबालिकामा पेट दुख्ने तथा मौसम परिवर्तनका कारण भाइरल ज्वरोको प्रकोप बालबालिकाहरूमा देखा पर्न थालेको हुँदा उचित खान पानमा ध्यान दिनलाई आग्रह गरे।
यसैगरी, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. विपिन पाण्डेले बिरामीमा गाठिया (बाथ)सम्बन्धी समस्या बढ्दो क्रममा रहेको जानकारी दिए।
शिविरमा स्वास्थ्य परीक्षणसँगै निःशुल्क औषधि वितरणसमेत गरिएको थियो। स्थानीयवासीहरूले शिविरबाट आफूहरू निकै लाभान्वित भएको बताएका छन्।
यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सहज रूपमा पुर्याउन महत्वपूर्ण योगदान गर्ने सहभागीले विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा सहभागी चिकित्सक तथा सहयोगीहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो। कार्यक्रममा हंसपुर नगरपालिका–६ का वडा अध्यक्ष,सुरेन्द्र कुमार मण्डल , ज्ञान वरदान इङ्ग्लिश बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल गणेश कुमार यादव, प्रिन्सिपल सन्तोष कुमार यादव, हंसपुर नगरपालिकाका ल्याब प्रमुख शंकर महतो, औरही गाउँपालिकाका ल्याब प्रमुख सरोज कुमार यादव, नैना हस्पिटल एण्ड दिव्या क्लिनिकका सल्लाहकार उमेश राउत लगायत स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।




